झापा । १३ वर्षको कलिलो उमेरमा विजुवा अर्थात धामी भएका झापा बिर्तामोडका वीरबहादुर राई अहिले ६६ वर्षका भए । गाउँघरमा काइँला विजुवाका रुपमा परिचित उनलाई विजुवाको कर्मले अहिले पनि छाडेको छैन ।

किरात राईहरुको उभौली पर्व होस् या त उधौंली पर्व नै किन नहोस् हरेक पटक उनले विजुवाको भूमिका निर्वाह गर्दै पूजा पाठ गराउँनै पर्छ । त्यतिमात्र होइन गाउँ घरमा कोही विरामी भए झारफुक नगरी उनले धरै पाउँदैनन् ।

बिर्तामोड-६ बुट्टाबारी निवासी उनी बुधबार पनि सोही कर्ममा व्यस्त थिए । किरात राई यायोख्या बिर्तामोड-६ बुट्टाबारीले हरियाली सामुदायिक वन समूहको हाताभित्र पर्ने साकेला थानमा आयोजना गरिएको कार्यक्रम स्थलमा पुग्दा उनी पुजामै व्यस्त थिए ।

प्रकृतिका पुजारी मानिने राई समुदायका काइँला विजुवा साकेला थानमा भूमि पूजा गर्दै विधिवत रुपमा चन्द्र सूर्यको समेत आरधना गर्दै अन्नवाली र सगुन (रक्सी) देवतालाई चढाइरहेका थिए । हेर्दा लाग्थ्यो बुट्टाबारी नजिकैको जंगलमा कुनै चलचित्रको छायङ्कन नै भइरहेको छ । बुधबारको टन्टलापुर घामको पर्वाह समेत नगरी राई समुदायका बालकदेखि बृद्धसम्मले साकेला नाचेको देख्दा लाग्थ्यो यहाँ कुनै ठूलै उत्सव नै भईरहेको छ ।

तर, सो स्थानमा न त कुनै चलचित्रको छायङ्कन भएको थियो न त कुनै सभा समारोह र उत्सवको आयोजना नै गरिएको थियो ।

थियो त केवल किरात राई यायोख्या प्रारम्भिक समिति बिर्तामोडले आफ्नो धर्म र संस्कृतिको संरक्षण र सम्वद्धन गर्दै युवा पुस्तालाई आफ्नो संस्कार संस्कृति हस्तान्तरणका लागि साकेला नाचको प्रतियोगिता । झट्ट हेर्दा कुनै उत्सवभन्दा कम थिएन उनीहरुको साकेला नृत्य प्रतियोगिता । जिल्लाका विभिन्न स्थानबाट आ-आफ्नो भेषभूषामा सजिएर झाँकीसहित आएका राई समुदायका युवायुवतीले बुधबार सो स्थानमा दिनभर साकेल नाचेका छन् ।

किरात जातिहरुको विशेष नाच साकेल निकै चर्चित नाच हो । साकेला नाच विशेष गरेर पूर्वी नेपालका विभिन्न भागमा नाच्ने गरिन्छ । साकेला पर्व र साकेला नाचको सुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको सुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् ।

किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुवात गरेको किंवदन्तीमा सबै एकमत छन् । बैशाख शुक्ल पूर्णिमा र मंसिर शुक्ल पूर्णिमालाई साकेला पर्वका रुपमा लिइन्छ र साकेला नाच प्रस्तुत गर्ने गरिन्छ । किरात समुदायमा यसलाई उभौली र उधौली भनिने गरेको बिर्तामोडका युवा समाजसेवी राजुजंग कन्दङ्वा भन्छन्, ‘उभौली पर्वको अवसरमा यहाँ साकेला थानमा साकेला सिली प्रस्तुत गरिएको हो ।’

‘साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात बैशाख पूर्णिमामा मनाइन्छ’, किरात राई यायोख्या प्रारम्भिक समिति बुट्टाबारीका अध्यक्ष जगतकुमार राईले भने, ‘अहिले हामीले मनाउने भनेको उभौली पर्व हो, मंसिरे पूर्णिमामा उधौली मनाइन्छ ।’

‘किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस, प्राकृतिक विपत्ति आइनलागोस, सुव्यफाव्य होस भन्ने कामनामाका साथ भूमि, पितृ र अन्नको पूजाआरधना गरी साकेला पर्व मनाउने चलन रहिआएको छ’, किरात राई यायोक्खा बिर्तामोड प्रारम्भिक समितिका अध्यक्ष बसन्तकुमार राई भन्छन्, ‘यो हाम्रो सांस्कृतिक पर्व हो । यो पर्व हरेक वर्ष मनाइन्छ ।’

‘किरात-राईहरूले पितृपूजा र प्रकृति पूजा गर्छन्’, राई समुदायका विजुवा भन्छन्, ‘किरात राईहरूले आफ्नो यो विशेष पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुई पटक मनाउँछन् । उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ ।’

अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधी नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतका रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ ।

किरातहरूको यो पर्व पृथ्वीमा कृषियुग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । उभौली साकेलाका अवसरमा यहाँ भेला भएका युवायुवतीले विभिन्न भेषभुषामा सजिएर साकेला नृत्य प्रस्तुत गरेका छन् ।

उभौली मनाउन साकेला थान पुगेका स्थानीयले काइँला विजुवा अर्थात नाक्साङले भनेबमोजिम ढोल र झ्याम्टा बजाएर देउतालाई खुसी बनाएका थिए । सो अवसरमा १० वर्षमुनिका कन्याले थुन्से अर्थात रुग्री बोकेर थान प्रवेश गर्दै देउतालाई खुसी तुल्याएका थिए ।

‘देवतासामु थुन्से बोकेर गएका कन्याले देवतासामु अन्नवालीमा सह माग्ने मानिसमा रोग व्याधी नलागोस् भन्दै कामना गर्ने र सुम्निमा पारुहाङ्सँग बल माग्ने गरिन्छ’, किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाका अध्यक्ष इन्द्रमान चाम्लिङले भने, ‘सुम्निमा पारुहाङ्संग बल माग्ने, अन्नमा सह माग्ने लगायतका काम थुन्से बोक्ने कन्याले पनि गर्छन् ।’

‘राई समुदायमा धेरै खाले राई हुन्छन्’, अध्यक्ष भन्छन्, ‘जति प्रकारका राई त्यति नै प्रकारका भाषा पनि बोल्छन् । फरक फरक भाषा बोले पनि साकेला मनाउने तरिका उस्तै हुन्छ ।’

साकोला थानको पूजासहित आयोजित समारोहमा स्वागत उपाध्यक्ष योगमाया राईले गरेकी थिइन् । सो समारोहमा बिर्तामोडका पदमसुन्दर कन्दङ्वा र ज्येष्ठ नागरिक जगतबहादुर राईलाई समेत सम्मान गरिएको आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।

कार्यक्रममा बिर्तामोड–६ का वडा अध्यक्ष सूर्य कन्दङ्वा, सुम्निमा संघकी जिल्ला अध्यक्ष चिजा राई, समाजसेवी राम कन्दङ्वा, धुलाबारी प्रारम्भिक समितिका अध्यक्ष ललित राई लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन धनसरी राईले गरेकी थिइन् ।