झापा । झापाको अर्जुनधारा २ खुदुनाबारीस्थित डुम्रीबोटेमा आज बिहान आगलागी हुँदा चौपायासहित साढे ७ लाख बराबरको क्षति भएको छ । बिहान करिव ३ः३० बजेतिर कुलचन्द्र पोखरेलको टिनको छानो भएको एकतले ग्वालीमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट गाईको एउटा बाछो जलेर मरेको छ भने ग्वाली र ग्वालीभित्र राखिएको आलु, धान, दाउरा, कुटी काट्ने मेशिन र छेउमा रहेको परालको कुन्यू जलेर नष्ट हुँदा ७ लाख ५० हजारबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
प्रहरी चौकी खुदुनाबारी र सशस्त्र प्रहरी वेश क्याम्प खुदुनाबारीको प्रहरी टोली , बिर्तामोड र मेचीनगर नगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा बिहान ५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
आगो निभाउने क्रममा घरधनी पोखरेलको शरीरको विभिन्न भागमा आगोले जलन भएको छ । उनलाई उपचारका लागि शनिश्चरे अस्पताल लगिएको छ ।