काँकरभिट्टा। विश्व मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा नव अभियान नेपालले मेचीनगर नगरपालिका ७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा घरदैलो सचेतनामूलक अभियान सञ्चालन गरेको छ।

 

‘ठगीको जालमा नफसौँ’ भन्ने मूल सन्देशसहित आयोजित घरदैलो कार्यक्रममा स्थानीय समुदाय, चिया बगानका श्रमिक, महिला, युवा तथा सर्वसाधारणलाई मानव बेचबिखनका जोखिम, झुटा प्रलोभन, सुरक्षित वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो।

 

अभियानका क्रममा नव अभियान नेपालका प्रतिनिधिहरूले घरदैलो गर्दै मानव बेचबिखन रोकथामसम्बन्धी पर्चा, पुस्तिका -ब्रोसर), जानकारीमूलक सामग्री -लिफलेट) तथा पोस्टर वितरण गरेका थिए। साथै, झुटा रोजगारीका प्रस्ताव, अनलाइन ठगी, सामाजिक सञ्जालमार्फत हुनसक्ने शोषण तथा शंकास्पद गतिविधिको जानकारी समयमै सम्बन्धित निकायमा गराउनुपर्ने विषयमा स्थानीयवासीलाई सचेत गराइएको थियो।

 

त्यसैगरी, मानव बेचबिखनका पीडितको अधिकार संरक्षण, बाल संरक्षण, सुरक्षित वैदेशिक रोजगार तथा मानव बेचबिखन रोकथाममा समुदायको सक्रिय भूमिकाबारे समेत जानकारी दिइएको थियो।

 

नव अभियान नेपालले समुदायस्तरमै सञ्चालन गरिएका यस्ता जनचेतनामूलक अभियानले मानव बेचबिखनविरुद्ध सचेतना अभिवृद्धि गर्न, जोखिम न्यूनीकरण गर्न तथा सुरक्षित र बेचबिखनमुक्त समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।