बिर्तामोड । झापामा ट्राफिक नियम उल्लङ्घन गर्ने सिटी सफारी र अटोमाथि प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै १६८ वटा सवारीसाधनलाई कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानमा विशेष चेकजाँच अभियान सञ्चालन गरेको थियो।
सिटी सफारी तथा अटो चालकले लाइसेन्स, ब्लुबुक, बिमा लगायतका आवश्यक कागजात बिना सवारी सञ्चालन गरिरहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो आएपछि अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
अभियानका क्रममा २८५ वटा सिटी सफारी र ३७ वटा अटो गरी कुल ३२२ वटा सवारीसाधन जाँच गरिएको थियो। तीमध्ये आवश्यक कागजात नदेखाएका १६८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ।
कारबाहीबाट २ लाख १० हजार राजस्व संकलन भएको छ। साथै, आवश्यक कागजात तत्काल पेश गर्न नसकेका २७ वटा सवारीसाधन नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।