झापा । झापालाई महिला फुटबलको हब बनाउने उद्देश्य लिएर आयोजना गरिँदै आएको झापा महिला गोल्डकपको विजेताले नगद ११ लाखसहित आकर्षक ट्रफी पाउने भएको छ । पहिलो संस्करणको विजेताले नगद १० लाख १० हजार पाएको थियो ।

 

गोल्डकप आयोजक समितिले आज दूधे रंगशालामा पत्रकार सम्मेलन गरी गोल्डकपबारे जानकारी दिएको हो । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार उपविजेता टिमले नगद ५ लाख ५० हजार पाउने छ ।

 

मंसिर ५ गतेदेखि हुने गोल्डकपमा तीन विभागीय टिमसहित भारत, भूटान, आयोजकसहित आठ टोलीको सहभागिता रहनेछ । एक करोड २५ लाख खर्च हुने अनुमान गरिएको गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ ।

 

यसैगरी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही २५ हजार पाउँदा प्रत्येक खेलको प्लेयर अफ दी म्याच बन्ने खेलाडीले नगद १५ हजार र ट्रफी पाउने छ ।

 

करिब १२ हजार दर्शक क्षमताको दूधे रंंगशालाको स्तरोन्नति गर्ने काम धमाधम भइरहेको जानकारी दिँदै अध्यक्ष थोप्राले अस्थायी प्यारापिट र खेलमैदानको स्तरोन्नति कात्तिक तेस्रो सातासम्म सम्पन्न गरिसक्ने बताए ।

 

यसैबीच, गोल्डकपमा बिक्री भएको प्रत्येक टिकटबाट दश रुपैयाँ आदिबासी नेत्रहिन संघ र अटिजम भएका बालबालिका अध्यनरत एक विद्यालयलाई प्रदान गरिने पनि अध्यक्ष थोप्राले बताए । पहिलो संस्करणमा नेपाल पुलिस फुटबल क्लबले उपाधि जितेको थियो ।