शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ९स्थित आगामी पुस १ गतेदेखि तेस्रो मचिन्द्र सुब्बा स्मृति अन्तरपालिका भेट्रान नकआउट फुटबल प्रतियोगिता २०८३ हुने भएको छ ।

 

गोलधाप युवा क्लबको आयोजनामा स्थानीय नमूना खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्दै खेल संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेन राईले बताए ।

 

जिल्लाको १५ वटा पालिकाको सहभागिता रहने प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ र उपविजेता टिमले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

 

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कार जनही तीन हजारसहित ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद पुरस्कार एक हजार पाँच सयसहित ट्रफी प्राप्त गर्ने छन् ।

 

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगिता सम्पन्न गर्न अनुमानित सात लाख ७४ हजार १६६ रुपैयाँ खर्च लाग्ने क्लबका सचिव भूपाल कार्कीले जानकारी दिए । त्यसको लागि अर्जुनधारा नगरपालिका, वडा कार्यालयहरु, सहयोगी दाता, स्थानीय सबैसँग समन्वय गरिने बताइएको छ ।

 

तीन वर्षअघि स्थानीय विभिन्न संस्था र समूहको सहभागितामा पहिलो संस्करण सम्पन्न गरेको क्लबले गतवर्ष वडास्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

 

क्लबका अध्यक्ष राईको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ  आले मामा, नगर खेलकुद विकास समितिका सदस्य सचिव खगेन्द्र लिङदेन, निर्माण व्यवसायी संघ कोशी प्रदेशका उपाध्यक्ष मिलन बस्नेत, नेपाल रेफ्री महासंघका केन्द्रीय सदस्य प्रदीपकुमार बस्नेत, नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागिरमान राईलगायतको आतिथ्यता रहेको थियो ।

 

क्लबका अध्यक्ष राईले प्रतियोगिताको विषय र सचिव कार्कीले औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य मौसम मगर “लाफा”ले गरेका थिए ।