इलाममा आयोजना हुने लगानी सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएपछि अतिथिहरूको स्वागत तथा मञ्च व्यवस्थापन देखि सम्मेलनका लागि देखाइने जिल्लाको अवस्थाको विश्लेषणलार्य अन्तिम रूपदिन लागिएको नगरप्रमुख महेश बस्नेतले बताए ।

जिल्लामा उत्पादन हुने कृषिका कच्चा पदार्थलाई जिल्ला भित्रै प्रशोधन गर्न र रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको जनाइएको छ । ‘विशेष गरि औद्योगिक पाटोमा जिल्लालाई अगाडि बढाउन सकिन्छ भन्ने सम्भावना देखेर दाताका बीच लगानी सम्मेलन आयोजना गर्न लागेका छौं’ नगरप्रमुख बस्नेतले भने ‘दिनहुँ विदेशिने श्रमशक्तिलाई जिल्लामै सदुपयोग गर्ने हाम्रो अर्को उद्देश्य हो ।’

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई लगानीका मुख्य क्षेत्रका रूपमा सम्मेलनमा लाने तयारी गर्दैछ । कृषितर्फ चिया, अदुवा, अलैंची, दूध, जडीबुटीलगायतका क्षेत्रमा दाताहरूलाई सम्भावना देखाउने छ । जिल्लामा उत्पादन हुने कृषि उपजलाई प्रशोधन र बजारीकरणका माध्यमबाट, यसक्षेत्रमा उद्योगधन्दा स्थापनाकालागि लगानीकर्ताको ध्यानाकर्षण हुने नगरपालिकाको अपेक्षा छ ।

‘जिल्लामा जटिल बन्दै गएको मानव स्वास्थ्य समस्या, अध्ययन–अनुसन्धान र शिक्षाका लागि उपयुक्त वातावरण लगानीका सम्भावित क्षेत्र हुनेछन्’ बस्नेतले भने ‘यसअघि काठमाडौं र विराटनगरमा गरिएका तयारी बैठकमा पनि लगानीकर्ता र दाताहरूले यी क्षेत्रलाई विषेश रूपमा लिएका छन् ।’

नगरपालिकाले जिल्लामा ठूला तथा साना उद्योगधन्दा स्थापना गराउन बाटो, विजुली, व्यवसाय दर्ता, कर, कानूनी बाधा अड्चन जस्ता विषयमा सहुलियत र छुटको व्यवस्था गर्न आफू तयार भएको जनाएको छ । सम्मेलनमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनी, जलविद्युत् लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी– व्यवसायीलगायतको सहभागिता रहने जनाइएको छ ।

नगरपालिकाले स्वास्थ्यको आवश्यकता, उच्च शिक्षाका लागि जिल्लाबाट बाहिरिने विद्यार्थीको अध्ययनको आवश्यकताको सम्भाव्यता, पहाडी जिल्ला पाँचथर, ताप्लेजुङबाट अध्ययनकालागि इलाम आउने विद्यार्थीका लागि आवश्यक र व्यवसायिक शिक्षाको सम्भाव्यता तथा पर्यटन क्षेत्रमा इलाम भित्रने पर्यटक र पर्यटन पूर्वाधार तथा विकासमा जोड दिइने नगरपालिकाले जनाएको छ ।

पर्यटनका क्षेत्रमा वार्षिक एक लाख पर्यटक जिल्लामा भित्रने भएपनि पर्यटकीय पूर्वाधारको अभाव रहेकाले अर्को सम्भावना पर्यटनमा रहेको बस्नेतले बताए । यसबाहेक कृषिमा विशेष लगानी आवश्यकता महशुस गरिएको बस्नेतको भनाइ छ ।
नगरपालिकाले इलाम नगरक्षेत्रमा मात्र नभएर जिल्लाका दशवटै स्थानीय तहका सम्भावित क्षेत्रमा उद्योग स्थापना गराउन र लगानी गराउन अन्य स्थानीय तहसँग पनि समन्वय गरिरहेको जनाइएको छ । ‘जुन स्थानीय तहमा जुनक्षेत्रको सम्भावना छ, त्यस स्थानमा पनि लगानीका लागि हामीले समन्वय र सहकार्य गरेर जिल्लाको आर्थिक विकासका लागि काम गर्नेछौं’ नगरप्रमुख बस्नेत भन्नुहुन्छ ।

उद्योग वाणिज्यसंघ इलामको समन्वयमा हुन लागेको सम्मेलन मार्फत जिल्लामा भएका सडक तथा पूर्वाधार, उर्जा उत्पादन, कृषिका कच्चा सामग्री लगानीकर्ताका लागि मुख्य स्रोत बन्न सक्ने इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलको भनाइ छ । स्थानीय उर्जाको उत्पादन र उपलब्धताको ग्यारेन्टी गरेर अझ औद्योगिक विकासका लागि अगाडि बढ्न बढाउन वाणिजय संघ पनि तयार रहेको कट्टेलको भनाइ छ ।

सम्मेलनको अन्तिम तयारी हुँदै गर्दा प्रधानमन्त्री तथा अन्य पाहुनाको स्वागतका लागि विभिन्न साँस्कृतिक झाँकी समेतको तयारी भइरहेको जनाइएको छ ।