भद्रपुर । सहकारीमार्फत कृषिलाई आधुनिकीकरण र व्यावसायिकरण गर्ने उद्देश्यले २०६३ सालमा स्थापित कलबलगुरी कृषि सहकारी संस्थाले आ. व. ०७४÷०७५ मा २ लाख ६६ हजार ९०६ रुपैयाँ नाफा गरेको छ ।
प्रदेश नं १ कै प्रमुख प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न खोजिएको झापा भद्रपुर–१० स्थित ग्रामीण प्रशिक्षण केन्द्रको सभाहलमा शनिबार आयोजित संस्थाको १२ औं साधारणसभामा संस्थाका अध्यक्ष भीम दाहालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार स.स्थाले सो नाफा गरेको हो ।
प्रतिवेदन अनुसार संस्थाले कृषिको माध्यमबाट सदस्यहरु माझ विभिन्नखाले वित्तीय परिचालनमार्फत आ. व. ०७४÷०७५ मा १७ लाख ७३ हजार ७९ रुपैयाँ आम्दानी गरेकोमा संस्था सञ्चालन तथा खेतीसमेतमा १४ लाख ९९ हजार ४३० रुपैयाँ खर्च गरेको छ । यस अवधिमा संस्थाको शेयर पूँजी २४ लाख ८३ हजार पुगेको छ भने १ करोड ०२ लाख १९ हजार ७०१ रुपैयाँ निक्षेप संकलन र ९१ लाख ९ हजार रुपैयाँ लगानी गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालकै अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए ।
संस्थाककी सचिव कल्पना नेपालले सञ्चालन र र उपाध्यक्ष कान्दु राजवंशीले स्वागत गरेको साधारणसभामा संस्थाका जेष्ठ सदस्य, उत्कृष्ट ऋणी र वचतकर्ता, उत्कृष्ट सञ्चालकलाई सम्मान गरिएको थियो भने सदस्यका छोराछोरीमध्येबाट कक्षा १२ उत्कृष्ट अंक ल्याउनेलाई छात्रबत्ति प्रदान गरिएको थियो । जेष्ठ सदस्यतर्फ लोकबहादुर ढुंगेल र इन्दिरा नेपाल, वचततर्फ कमला पराजुली र ऋणीतर्फ प्रेम सारु मगरलाई ससम्मान गरियो भने १२ कक्षाको परीक्षामा ७५.६० प्रतिशत अंक ल्याउने अनुपम भट्टराई र रोशनी माक्खिमलाई जनही १५०५।– रुपैयाँ छात्रबृत्ति प्रदान गरियो । उत्कृष्ट सञ्चालकको रुपमा सञ्चालक सदस्य पदमप्रसाद अधिकारीलाई सम्मान गरिएको सचिव नेपालले जानकारी दिइन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले नेपालमा कृषिमार्फत नै समृद्धि हासिल गर्न सकिने भन्दै सबै सहकारीहरुले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए । उनले नगरपालिका सहकारीमार्फत कृषिको आधुनिकीकरणमा जुटेको भन्दै कलबलगरी सहकारीलाई अनुदानमा धान काट्ने हाते मेशिनलगायतका कृषि औजार पनि नगरपालिकाले उपलब्ध गराएको उल्लेख गरे । सो अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रबर जोनका प्रमुख शेषराज पौडेल, कृषि ज्ञानकेन्द्र झापाका शालिकराम भट्टराई, सहकारी निरीक्षक डिल्ली दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको साधारणसभाले नयाँ नेतृत्व पनि चयन गरेको छ । संस्थाको निर्वाचन समितिका संयोजक भलाकाजी कठायतका अनुसार अध्यक्षमा पुनः भीम दाहाल चयन भएका छन् । सबै पदाधिकारी सर्वसम्मत चयन भएको समितिको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः अम्बिकाप्रसाद ढकाल, कल्पना नेपाल, पदमप्रसाद अधिकारी र सुमना दाहाल चापागाईं छन् भने सदस्यमा रामजी दाहाल, छविलाल सुवेदी, प्रेम घिमिरे, नरमाया थापा पोखरेल, कृष्णप्रसाद काफ्ले र तुलसी कार्की (मणिराम) चयन भएका छन् ।
लेखा समितिको संयोजकमा पुनः हरिप्रसाद गौतम तथा सदस्यमा मणिराम न्यौपाने र लीला काफ्ले चयन भएको संस्थाका व्यवस्थापक शंकर नेपालले जानकारी दिए ।