भद्रपुर । २२ सय वर्ष पुरानो गढ मानिएको झापा भद्रपुरस्थित चन्द्रगढको केही भूभागलाई वनभोजस्थलको रुपमा विकास गरिने भएको छ ।

सेनवंशीय इतिहास बोकेको मानिएको चन्द्रगढमा स्वच्छ खानेपानी, विद्युत तथा पाकशाला सुविधासहितको वनभोजस्थलको रुपमा विकास गर्न लागिएको हो । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको मातहतमा रहेको चन्द्रगढ निकै पुरानो इतिहास बोकेको गढ भए पनि पूर्वाधार र प्रचारको अभावमा ओझेलमा परिरहेको थियो ।

गढको ऐतिहासिकतालाई संरक्षण गर्दै आगन्तुकलाई आकर्षित गर्ने गरी संरचना निर्माण गरिने वनका अध्यक्ष हिरा पोखरेलले जानकारी दिए । संरचना निर्माणका लागि सोमबार औपचारिक रुपमा शिलान्यास गरिएको छ ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतको चन्द्रगढ सरसफाइ तथा व्यवस्थापन उपसमितिकी संयोजक कौशिला प्रसाईंको अध्यक्षतामा आयोजित समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, वन समूहका अध्यक्ष हिरा पोखरेलले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

यस वर्ष वनले चन्द्रगढ परिसरमा तार घेराबारा, विद्युत विस्तार, खानेपानी व्यवस्थापन र केही टहरा निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए । चन्द्रगढको संरक्षण, सम्बद्र्धन र विकासका लागिभद्रपुर नगरपालिकाले पनि सक्दो सहयोग पुर्याउने नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।

उपसमितिका सदस्य रमेश न्यौपानेले सञ्चालन गरेको समारोहमा नगर उपप्रमुख श्रेष्ठ, नेकपाका नेता असारु राजवंशीलगायतले ऐतिहासिक चन्द्रगढ भद्रपुरको मात्र नभई राष्टकै सम्पत्ति भएकोले यसको प्रचार र संरक्षण सम्बद्र्धनमा प्रदेश तथा केन्द्रीय सरकारले पनि ध्यान पुर्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

राणाकालीन इतिहाससँग पनि जोडिएको चन्द्रगढ लगभग १४ विगाहा क्षेत्रफलमा फैलिएको वन समूहले जानकारी दिएको छ । चन्द्रगढ परिसरमा एउटा मन्दिर छ भने आधा दर्जनजति गढ रहेका छन् । चन्द्रगढी सामुदायिक वनले ३४७.५९ हेक्टर क्षेत्रफल ओगटेको छ । यस वर्ष जिल्ला बाहिरसमेतबाट झण्डै सयवटा समूह वनभोजका लागि चन्द्रगढ आएको वनका कोषाध्यक्ष खतिवडाले जानकारी दिए ।