बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ देखि २३ गतेसम्म हुने ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’ को तयारी अन्तिम भएको छ ।

बुधबार संघले पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारेमा जानकारी दिएको हो । पूर्वको व्यापारिक तथा औद्योगिक केन्द्र बिर्तामोडमा १३ दिनसम्म लगातार सञ्चालन हुने महोत्सवको मुख्य विशेषता नेपाललगायत छिमेकी राष्ट्रहरुका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराउने रहेको महोत्सव संयोजक प्रकाश शिवाकोटीले जानकारी दिए ।
‘बिर्तामोडसहित समग्र झापाको विकास र यहाँ उत्पादन भएका बस्तुको पहिचानमा महोत्सव कोशेढुंगा सावित हुनेछ’, संयोजक शिवाकोटीले भने । २१० वटा स्टल बुकिङ भइसकेको बताउँदै उनले महोत्सवको ९५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।
‘स्टलबाहेक अस्थायी शौचालय, खानेपानीका लागि ट्युवेल जडान, विद्युत् विस्तार गर्ने काम भइसकेको छ’, उनले भने, ‘यस महोत्सवमा हेलिकोप्टर सेवा अर्को आकर्षण थपिएको छ ।’ संघका निवर्तमान अध्यक्ष बलराम कार्कीका अनुसार बिर्तामोड क्षेत्रमा पाँच मिनेट, झापाभरि १० मिनेट र ताप्लेजुङको पाथीभरा दर्शनका लागि सशुल्क हेलिकोप्टरको प्याकेज ल्याइएको छ ।
चार भागमा विभाजन गरिएको महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहने महोत्सव सचिव सञ्जीव घिमिरेले बताए । प्रदर्शनीकक्षमा अलगअलग परिसर बनाई अटो मोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्रा्ष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटनसम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ताचप्पल रहने संयोजक शिवकोटीले बताए । कार्यक्रममा बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जलकुमार गुरुङले महोत्सव सफल पार्न सबैमा अनुरोध गर्दै झापालीको दायित्व रहेको बताए ।
मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको समेत सहभागिता रहनेछ । मुलुकका चर्चित कलाकारहरु तथा विभिन्न ब्यान्डको आकर्षक दैनिक सांगीतिक प्रस्तुति रहनेछ । साथै, विविध जातीय पहिचानको झाँकी र लोकदोहोरी समेत प्रस्तुत हुनेछ । बाल उद्यान क्षेत्रमा विभिन्न साहसिक तथा मनोरञ्जनात्मक खेलहरुका स्टल रहने छन् । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टका साथै जातीय खानपानका विभिन्न स्टलहरु रहनेछ ।
स्थानीय क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष टेवा पु¥याउने महोत्सवको उद्देश्य रहेको संघका अध्यक्ष कुमार भट्टराई ले बताए । एक करोड ५ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा २० करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने र करिब २ लाख मानिसहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
तीन बिघा तीन कठ्ठा क्षेत्रमा रहने महोत्सव अवलोकनका लागि ५० र विद्यार्थीका लागि २५ रुपैयाँ टिकट दरको व्यवस्था गरिएको छ ।
सुरक्षाका लागि महोत्सव स्थलमा सुरक्षाकर्मीका अतिरिक्त सिसी टिभीबाट २४ घण्टा निगरानी गरिनेछ । महोत्सवमा जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर कोट, भारतबाट फर्निचर, किचनको सामग्री र बंगलादेशबाट कुर्तासुरुवालसम्मको स्टल रहनेछ । महोत्सव बिर्तामोड ५ स्थित धर्मकाँटाको उत्तर मातामन्दिर जाने बाटोका छेउमा हुनेछ ।