बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अवलोकन गर्न आउनेहरुले आदिवासी जनजातिहरुको स्टललाई विशेष चासोका रुपमा हेरेको पाइएको छ । महोत्सवमा आदिवासी जनजातिहरुले आफ्ना मौलिक सामग्री चिनाउने उद्देश्यका साथ स्टलहरु राखेका छन् ।

महोत्सव स्थलमा किरात राई यायोक्खा, मेचे समाज शिवियारी आफात, किरात याक्थुङ चुम्लुङ, थारु कल्याणकारिणाी सभा, सन्थाल, राजवंशी, गनगाईं, मगर, तामाङ घेदुङ लगायत समुदायको स्टल राखिएको छ । स्टलमा मौलिक पहिचान झल्किने भेषभुषा, दैनिक प्रयोजनका परम्परागत सामग्री तथा कलाकृतिसमेत राखिएको छ ।

आफूहरुले मौलिक घरसहितको स्टल बनाएर राखेको किरात राई यायोक्खाका चित्रप्रकाश राईले बताए । ‘ओख्ली, जाँतो, डालो, डोको, चिण्डो, मकैको झुत्ता, फर्सी जस्ता सामग्री पनि राखिएको छ’, उनले भने, ‘महोत्सवमा मौलिक सामग्री चिनाउने नै हाम्रो मुख्य उद्देश्य हो ।’

२१० वटा स्टल रहेको महोत्सव शुक्रबारदेखि सुरु भएको हो । महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेको संख्या बढ्दो छ । महोत्सवमा शनिबारदेखि टिकटको व्यवस्था गरिएको छ । हालसम्म १० हजारभन्दा बढीले टिकट काटेर महोत्सवको अवलोकन गरेको आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालले जानकारी दिए ।

महोत्सवकै अवसरमा काठमाडौँबाट माउण्टेन एयरको हेलिकप्टर ल्याइएको छ । हेलिकप्टर चढेर विभिन्न स्थान अवलोकन गर्नेको संख्या बढेको बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य रोशन प्रसाईंले बताए । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सवमा तीनवटा प्याकेजमा हेलिकप्टर सञ्चालनमा ल्याइएको हो ।

महोत्सवस्थलमा स्वास्थ्य शिविर समेत सञ्चालनमा ल्याइएको छ । सोमबार छाला रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुने बताइएको छ । महोत्सवमा आउनेमध्ये २५ जनाले रक्तदान तथा ४० जनाले दन्त परीक्षण गराएको लायन्स क्लब अफ बिर्तामोडले जनाएको छ ।

महोत्सवमा २ लाख भन्दा बढी मानिस सहभागी भइ अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका सचिब सञ्जिव घिमिरेले बताए । मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता छ । मेलामा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले आफ्नो प्रस्तुति देखाइरहेका छन् । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोजक्टसम्मका उत्पादन मेलामा उपलब्ध छ । महोत्सव २३ माघसम्म सञ्चालन हुनेछ ।