अर्जुनधारा, झापा । खेलको सुरुवातमै कायम गरेको अग्रतालाई रोक्न नसक्दा इलाम जिल्ला फुटबल संघ झापाको अर्जुनधारामा जारी १ नम्बर प्रदेशस्तरीय सुखानी सहिद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेल मैदानमा आइतबार सम्पन्न खेलमा इलामलाई २–१ गोलले पराजित गर्दै माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

इलामकी जेनिफर रानामगरले खेलको आठौँ मिनेटमा गोल गरेर अग्रता दिलाए पनि सुनसरीकी पुष्पा चौहानले खेलको १८औं र हेमा सिवाले ४६औं मिनेटमा गोल गरेका थिए ।

खेलको वूमन अफ दी म्याच सुनसरीकी गोलरक्षक जीना मगर घोषित भएकी थिइन् । उनलाई सुखानी सहिद उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ बरालले नगद दुई हजारबाट पुरस्कृत गरे ।

सोमबारको खेल कर्णसिंह सोनाम स्पोर्टिङ क्लब ताप्लेजुङ र बसाहा क्लब उदयपुरबीच हुने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार पाउनेछ ।