अर्जुनधारा, झापा। गत आइतबार अर्जुनधारा नगरपालिकाको मुख्य कार्यालयमा तोडफोड गरेका आन्दोलनरत् मजदुरहरुले सोमबार अर्जुनधाराको मुख्य बजार शनिश्चरे चार घण्टा बन्द गरेका छन् ।
हातमा लाठीसहित सयौंको संख्यामा चर्को नारावाजी गर्दै सहभागी भएका उनीहरुले बन्दको क्रममा स्थानीय पसलहरुलाई बन्द गराउनुका साथै त्यस क्षेत्रमा सञ्चालन हुने यातायातका साधनहरु ठप्प पारेका थिए ।
‘हाम्रो माग पुरा गर’, ‘हरि राना मुर्दावाद’, ‘यस्तो मेयर चाहिँदैन, ‘बगर बेच्न पाँइदैन’, ‘दादागिरी चल्दैन’, ‘गुण्डागर्दी बन्द गर’ जस्ता नारा लगाउँदै उनीहरुले बजारको परिक्रमा गर्दै मुख्य चोकमा टायर बालेर विरोध गरे ।
विभिन्न माग राख्दै मंगलबार २४ घण्टाभित्र माग पूरा गर्न सम्बन्धित निकायलाई समयसीमा दिएका छन् ।
यसैबीच मेयर हरिकुमार रानाले मंगलबार हुने सर्वपक्षीय र सर्वदलीय बैठकबाट उनीहरुको जायज माग पूरा गराउन पहल गर्ने र माग पूरा गराउन गरिएको आन्दोलनको क्रममा भएका अवाञ्छित गतिविधिबारे सजग गराउने बताएका छन् ।