बुटवल । मोफसल कै प्रतिष्ठित र पुरानो मध्ये एक २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।

बुटवल स्थित एन्फा एकेडेमीको मैदानमा भएको उद्घाटन खेलमा झापा–११ ले विजयी शुरुवात गर्यो । बिजयी शुरुवात गर्ने क्रममा झापाले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० ले हरायो ।

झापाको जितमा पहिलो हाफको आठौं मिनटममा कर्ण लिम्बुले पहिलो गोल गरे भने दोस्रो हाफको ५० औं मिनटमा बुद्धबल तामाङले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा झापाका कर्ण लिम्बु म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको खेल आयोजक लाली रुपन्देही–११ र सुनसरी–११ बीच हुने आयोजकले जनाएको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख ८० हजार हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ ।