इलाम । रोङ गाउँपालिकाले आयोजना गरेको घुम्ति शिविरबाट पहिलो दिन नै २१२ जनाले नागरिकता पाएका छन् ।
चैत २१ र २२ गते सञ्चालन भइरहेको शिविरको पहिलो दिन जिल्ला प्रशासन कार्यालय इलामले नागरिकता वितरण गरेको हो । शिविरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भूगोलको अवस्थाले गर्दा गाउँपालिकासँग समन्वय गरी शिविरको आयोजना गरिएको बताए ।
गाउँपालिका अध्यक्ष सम्शेर राईले जिल्लाका विभिन्न कार्यालयबाट गाउँपालिकामा सेवा सुविधा पाइने भएको हुँदा उक्त अवसरको सदुपयोग गर्न आग्रह गरे । त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राईले जनताको काम सजिलोका लागि सबै वडालाई गाउँपालिकामा केन्द्रित गरी शिविरको आयोजना गरिएको बताइन् ।
५ नम्बर वडाका अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक युवराज खाप्तुवा राईले शिविरको पहिलो दिन २१२ जनाले नागरिकता पाएको बताए । उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय र इलाम जिल्ला अस्पतालले स्वास्थ्य परीक्षण र औषधि वितरण गरिरहेको छ भने जिल्ला निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।