अर्जुनधारा । शनिश्चरे बजारको साप्ताहिक हाट साविककै स्थानमा राखिनुपर्ने माग राख्दै आएका व्यापारीहरुले बजार बन्दको घोषणा फिर्ता लिएका छन् ।

उनीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै शुक्रबार र शनिबार बन्दको आह्वान गरेका थिए । पहिलो दिन बन्दको प्रभाव परेको थियो । तर, अर्जुनधारा नगरपालिकाले वार्ताका लागि आन्दोलित व्यापारीलाई पत्राचार गरेपछि आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।

योसँगै शनिबार बजार खुला रहने बताइएको छ । नगरको पत्रमा नगरपालिकाका मेयर हरिकुमार रानामगर जिल्ला बाहिर रहेकाले उहाँ आएपछि वार्ता गरिने उल्लेख छ ।

असन्तुष्ट व्यापारीहरुले नगरपालिकाको बजार व्यवस्थापन समितिले साविकको साप्ताहिक हाटलाई सातपत्रेमा सारेपछि शनिश्चरे बजारमै लगाइनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए । नयाँ स्थानमा साविकको बजारलाई गएको दुई सातादेखि स्थान्तारण गरेको छ । नगरले गौरवको योजना अघि सारेर शनिश्चरे चोक बजारलाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न काम अघि बढाएको छ ।