अर्जुनधारा । पूर्वेली कलाकार संघको दोस्रो प्रस्तुति र झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको विशेष सहयोगमा “यथार्थ अन्धविश्वासको” वृत्तचित्र निर्माण हुने भएको छ ।

स्वास्थ्य क्षेत्रमा देखिएको विकृति, विसंगति र अन्धविश्वासलाई उजागर गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त वृत्तचित्रको आइतबार झापाको चारआलीस्थित पाउ पाथिभरा धाममा हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले शुभमूहर्त गरे ।

पूर्वको इलाम र झापा जिल्लाका विभिन्न स्थानहरुमा छायाँकन गरिने वृत्तचित्र ४० मिनेट लामो हुने निर्देशक कसम खवासले बताए । वृत्तचित्रमा कलाकारहरु खगेन्द्र ढकाल, डिवी गिरी, दिपेश भट्टराई, पवन आचार्य, राजा कन्दङवा, विनोद रिसाल, विन्दु श्रेष्ठ, सुमन खवास, स्मिता देवान र ज्ञानु श्रेष्ठलगायतको अभिनय रहनेछ ।

चार लाख रुपैयाँको लागतमा सम्पन्न हुने वृत्तचित्रको निर्माता डिवी गिरी, पटकथा विजू लिम्बू, छायाँकन नरेश चौधरीको रहने बताइएको छ ।