अर्जुनधारा । प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्था अर्जुनधारा–८ ले मंगलबारदेखि प्रज्वला विद्युतीय सामग्री पसल सञ्चालनमा ल्याएको छ ।

समय सान्दर्भिक व्यवसायको रुपमा विद्युतीय सामग्रीप्रति सबैको आकर्षण बढेको हुनाले पसल सञ्चालनमा ल्याइएको उक्त पसलको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले उद्घाटन गरेका थिए ।

प्रारम्भिक लगानी १० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको उक्त पसलमा वर्लपूल, बाल्ट्रा, हाइसेन्सलगायत कम्पनीका सामग्रीहरुको बिक्री हुने संस्थाकी व्यवस्थापक तुलसा कुँवरले बताइन् । “संस्थामा आवद्ध शेयर सदस्यहरुको लागि फाइनान्सको सुविधा पनि छ”, उनले भनिन् ।

संस्था सञ्चालक समितिका उपाध्यक्ष डिल्ली घोर्साईंको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर पशुपन्छी विकास शाखाका प्रमुख पदमलाल राई, कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, सल्लाहकार पदमबहादुर मगरलगायतको आतिथ्यता रहेको थियो ।

लेखा समितिकी संयोजक इन्दिरा दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् । उक्त संस्थाले विगत दुई वर्षदेखि कृषि सामग्री पसल पनि सञ्चालनमा ल्याइसकेको छ ।