अर्जुनधारा। चारघरे महिला समूह अर्जुनधारा–९को आयोजनामा एक दिवसीय भान्सा नै औषधालय सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय बाल विकास केन्द्रको सभाहलमा समूहकी अध्यक्ष टीकादेवी खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख कमला खतिवडा आचार्यले उद्घाटन गरेकी थिइन् ।

वस्तु तथा सेवा संरक्षण उपभोक्ता महासंघ झापाका अध्यक्ष रामबहादुर राई, कोषाध्यक्ष टेकबहादुर गिरी, संरक्षण नगर समितिका उपाध्यक्ष गान्धारी मिश्र, सहसचिव दीनानाथ शिवाकोटी र कोषाध्यक्ष इन्दिरा भट्टराईले सहजिकरण गरेको कार्यक्रममा १०० जना सहभागी रहेको बताइएको छ ।

सोही कार्यक्रमको सन्दर्भमा ज्येष्ठ नागरिकहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा कौशिला चौलागाईं, गोमा कार्की, डिल्लीकुमारी रिमाल, धनपती खरेल, भोजकुमारी आचार्य र रुपा विष्ट रहेका छन् ।

कार्यक्रममा नगर बोर्ड सदस्य हरिमाया दाहाल, न्यायिक समिति सदस्य तुम्मनाथ काफ्ले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का वडा सदस्य युवराज प्रसाईं, नेपाली काँग्रेस वडा सभापती लीला पौड्याल, नेपाल रेडक्रस सोसाईटी शनिश्चरे उपशाखाका सचिव कृष्णप्रसाद भट्टराईलगायतले कार्यक्रमसम्बन्धी आफ्नो धारणा व्यक्त गरेका थिए ।

समूहकी सदस्य जशोदा खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर संघकी कोषाध्यक्ष भट्टराईले गरेकी थिइन् ।