इलाम। तराईका जिल्लामा गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।

गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् ।दिनहुँ तराईका विभिन्न जिल्लामा गर्मी बढ्न थालेपछि गर्मी छल्नका लागि इलामको कन्याम लगायतका क्षेत्रमा घुम्न आउनेको संख्या ह्वात्तै बढेको छ । नजिकको झापाबाट भने दिनहुँजसो गर्मी छल्न र मनोरञ्जन गर्न इलाम उक्लिनेको संख्या बढ्दो छ ।

तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आएका छन् । भौगोलिक रूपले इलामसँग मिल्दाजुल्दा जिल्लाका अगुवा किसान चियाखेती सिक्नका लागि यहाँ आइपुगेका छन् ।

केही दिनअघि मात्रै ललितपुर र रामेछापका २१ किसानले यहाँका बगानमा चिया खेती सिक्न आए । ललितपुरका नौ र रामेछापका एक गरी १० वटा चिया सहकारीका अगुवा सदस्य चिया खेती सिक्न र अवलोकनका लागि इलाम आएका थिए । उनीहरूलाई चिया खेती सम्बन्धी सैद्धान्तिक ज्ञानसहित, रोपणशैलीका बारेमा जानकारी गराइएको थियो ।

केही वर्षअघि यहाँबाटै चियाको बिरुवा लगेर खेती शुरु गरेका किसानले बजारीकरणको बारेमा थाहा पाउन इलाम आएका हुन् । बजारीकरण राम्रो नहुँदा चिया बेच्नै समस्या परेकाले बुझ्नका लागि इलाम आएको ललितपुरका चिया किसान पुरुषोत्तम तिम्सिनाले जानकारी दिए । तिम्सिनाका अनुसार इलामकै एक व्यक्तिबाट २०६८ सालतिर चियाको बिरुवा ललितपुरमा लगेर खेतीको बारेमा जानकारी गराइएको थियो । सामान्य खेती हुन थालेपछि अरु बिरुवा पनि निर्यात गरेर ललितपुरमा पनि अहिले व्यावसायिक रूपमा चिया उत्पादन हुन थालेको तिम्सिनाको भनाइ छ ।

‘हामीले इलामको भ्रमण पश्चात् प्याकेजिङ र बजारीकरणका बारेमा धेरै थाहा पायाँ’, तिम्सिनाले भने, ‘प्याकेजिङ राम्रो नहुँदा हाम्रो चिया बिक्न समस्या थियो । त्यो कुरा इलाम भ्रमणबाट थाहा भयो । बजारीकरणका लागि पनि भारत निर्यात गर्न हामीलाई सहयोग भयो ।’

आफ्नै संस्थाको सहयोगबाट धेरै जिल्लाका किसानलाई चिया सिकाउने काम वर्षेनि गरिँदै आएको केन्द्रीय चिया सहकारी संघ इलामका अध्यक्ष गोविन्द दाहालले जानकारी दिए । ‘हामीले वर्षेनि स्थानीय निकायसँग समन्वय गरेर विभिन्न जिल्लाका किसानलाई चिया अवलोकन र चियाखेती विस्तार गर्न इच्छुकलाई इलाम भ्रमणको निम्तो दिन्छाँै’, –दाहालले भने, ‘यसका लागि हामी आफैँ भाडा दिने र तालिम समेत प्रदान गर्छौं ।’

चियाखेती सिक्न इलामका पाँच वटा उद्योगमा किसानले भ्रमण गरेका थिए । उनीहरूले देउमाई शान्तिडाँडा राँकेटारको उच्च पहाडी चिया सहकारी, इलाम साखेजुङको ग्रीन हिल चिया सहकारी, सूर्योदय फिक्कलको इलामेली चिया सहकारी र कन्यामको कन्याम चिया सहकारी, सन्दकपुरको सानीमाई चिया सहकारीका साथै चिया विस्तार योजना फिक्कलमा भ्रमण गरेका थिए ।

पछिल्लो समय चियाखेती सिक्नका लागि इलाम आउने किसानको संख्या उल्लेखनीय रहेको अध्यक्ष दाहालले जानकारी दिए । विभिन्न संस्थाबाट सहयोग पाउन थालेपछि मकवानपुर, ललिपुर, सोलुखुम्बु, सिन्धुपाल्चोक र भक्तपुरबाट एक सयभन्दा बढीको सङ्ख्यामा खेती सिक्न आउने गरेको उनको भनाइ छ ।केन्द्रीय चिया सहकारी संघ लि। नेपालको आयोजनामा भएको अवलोकन सिकाइ भ्रमणले सहभागीमा चिया खेतीको विकास विस्तारमा थप ऊर्जा मिलेको र इलामको पर्यटनमा समेत सहयोग पुगेको संघका महासचिव रविन राईले जानकारी दिए ।

केन्द्रीय चिया सहकारी संघ लि। नेपालले इलामको शेरामा आफ्नै भवन निर्माण गरी देशभरका चिया सहकारीमार्फत् चिया खेतीको विकास र विस्तारमा सहयोग गर्नका साथै चिया किसानको भूमिका परिर्वतनका लागि वस्तुको मूल्य शृंखलाको उत्पादनबाट प्रशोधन र बजारीकरणमा प्रवेश गराउनमा लागि परेको संघका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताए ।