अर्जुनधारा । झापाको अर्जुनधारा–९स्थित क्षमता विकास तालिम उपभोक्ता समितिको आयोजनामा विहिबारदेखि तीन दिवसीय व्यवसायिक अचार बनाउने तालिम शुरु भएको छ ।

चालु आर्थिक वर्षको क्षमता विकास कार्यक्रमअन्र्तगत अर्जुनधारा–९ वडा बजेटबाट विनियोजित एक लाख रुपैयाँ आर्थिक सहयोगमा आयोजना गरिएको उक्त तालिम स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान गरि उनीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले सञ्चालन गरिएको वडा सदस्य हरिमाया दाहालले बताइन् ।

स्थानीय शिव बाबा अचार जुस उद्योगका सञ्चालक दीनानाथ शिवाकोटीले सहजिकरण गरेको तालिममा ५० जना प्रशिक्षार्थी सहभागी रहेको बताइएको छ ।

समितिकी अध्यक्ष विद्या तिम्सिनाको अध्यक्षता र वडाध्यक्ष पूष्पकुमार प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नगर सदस्य युवराज प्रसाईं, नेपाली कांग्रेस वडा सभापति लीला पौड्याल, लालीगुराँस महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याललगायतले बोलेका थिए ।

वडा सदस्य नरेन्द्र अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन थीरप्रसाद दाहालले गरेका थिए ।