भोजपुर । भोजपुर सदरमुकाम छेवैको पोखरे क्षेत्रमा आगलागी भएको छ । भोजपुर नगरपालिका–७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी शुरु भएको हो ।
स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगलागी नियन्त्रण बाहिर रहेको स्थानीयले जानकारी दिएका छन् । नजिकैको घरमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय जुटेका छन् । तर, पानी पर्याप्त नभएका कारण आगो नियन्त्रणमा लिन समस्या भएको जनाइएको छ । सडक साँघुरो भएका कारण भोजपुर नगरपालिकाको दमकल यो समाचार तयार पार्दासम्म पुग्न सकेको छैन ।
आगो नियन्त्रण बाहिर गएकाले थप जोखिमको सम्भावना रहेको स्थानीयको भनाइ छ । घरभित्र रहेका खाना पकाउने ग्याँसको सिलिण्डरहरु पड्किदा आगो झन् फैलिएको छ ।