पाँचथर/ विदाको समय होस वा अन्य समय व्यवस्थापन गरेर घुम्न जाने तालिका बन्न थालेको छ । घुम्ने काम ‘चलन’ को रुपमा विकास हुदैछ ।

पूर्वी पाँचथरमा घुम्नेहरुको संख्या उलेख्य रुपमा वृद्धि भएको छ । घुम्ने, गीतगाँउदै रमाउने र फोटो–भिडियो समाजिक सञ्जालमा पोष्ट गर्ने गरीन्छ । तन्नेरी पुस्तामा घुम्नेमा रुचि छ । केहि यात्रा गाडी वा मोटरसाईकलमा गर्ने र हिड्ने समेत गरीन्छ । हाईकिङमा रुचि बढ्दै गएकोदेखिन्छ । यहाँका पर्यटकिय क्षेत्रमा घुम्ने, रमाउने, बनभोज खाने चलन बाक्लीएको देखिन्छ ।

पाँचथरको साधुटार पछिल्लोपटक चर्चामा आएको घुमफिर गर्न रुचाउने पारखीका लागि नयाँ गन्तव्य हो । तर, पाँचथरमै अर्को गन्तव्य पनि रहेको छ । अहिले त्यहाँको चर्चा पनि बढ्न थालेको छ । घुमन्तेहरुको रोजाईमा पाँचथरको याङवरक गाँउपालिका–६ मा पर्ने कालापानी पनि गन्तव्य बनेको छ । पुग्नलाई नजिक र सानो ठाँउ भए पनि आर्कषक रहेकाले यहाँ रोजाईको विषय बनेको छ ।

सदरमुकाम फिदिम तथा अन्य क्षेत्रका लागि ग्रामिण बनोटको ठाँउ भएकाले फुत्त निस्कन सजिलो भएको छ । व्यापारी, कर्मचारी तथा अन्य क्षेत्रका आवद्धहरु विदाको दिन यो ठाँउमा पुग्ने गरेका छन् । आसपासका हिलिहाङ गाँउपालिका तथा याङवरक गाँउपालिकाकै बासिन्दाहरु पनि यहाँआईपुग्ने गरेका छन् ।

कुम्भकर्ण, कञ्चनजंगा लगायतका हिमशृखला नजिकझै देखिन्छ । पोखरीमा हिमाल छर्लप्प डुबेझै देखिने दृष्यमा मोहित हुने गरेको पाईन्छ । फराकिलो चौरको छेउमा पोखरी बनाईएको छ । यहाँ पर्यटन विकासका लागि भन्दै पोखरी, आरामकक्ष लागयतका पूर्वाधारहरु थपिएको छ । पोखरीमा हिमाल, वरीपरीको पहाड छाँया पर्दा आर्कषक देखिने गरेको पाईन्छ । यहाँ बनभोजका लागि बढि जाने गरीन्छ ।

मेची राजमार्गको सडक नजिक भएकाले पनि यहाँ पुग्न सहजता रहेको छ । मेचीराजमार्गमा पर्ने गोपेटार बजारबाट दश मिनेटको कच्ची सडकको यात्रा गर्दा फुत्त कालापानी पुगिन्छ । सिजन अनुसारको फुल फुलेको देख्न पाईन्छ । यहाँ ग्रामिण जनजिवमा रमाउन समेत मिल्ने गर्छ । विहान हिमाल टल्किएको देखिन्छ । साझ पनि हिमालको दृष्य आर्कषक लाग्छ ।

फिदिम आउने पाहुनालाई नजिकको गन्तव्यको रुपमा लिएर जोरपोखरी हुदैँ यहाँ लगिन्छ । छोटो समयमा केहि पृथक दृष्य र रमाईलोका लागि यहाँ रोजिन्छ । शनिवार यहाँ आउनेको संख्या उलेख्य हुने स्थानियको भनाई रहेको छ । लेकाली ठाँउ भएकाले चिसो सिरोटोले सताउछ ।

डाडाँहरुले घेरीएको चौर भएकाले घाम पनि उत्तिकै पारिलो लाग्छ । समयअनुसारका फरक फरक दृष्य देख्न पाईन्छ । डाँडामा बदाम र सुन्तला खानेहरु पनि भेटिन्छन् । छोटो समयमा घुमेर रमाउन मिल्ने ठाँउ भएको छिमेकी हिलिहाङ गाँउपालिका–३ का वार्ड अध्यक्ष मदन गौतम बताउँछन् । उनका अनुसार बर्षामा हरियाली मस्त हुन्छ भने हिउँदमा टाढा–टाढाको दृष्यसँग रमाउन मिल्छ ।

यहाँको प्रमुख आर्कषण पोखरी, हिमाली दृष्य र ग्रामिण जिवन शैली रहेको छ । यहाँ मोटरसाईकल र रिजर्भ गाडीमा पुग्न सकिन्छ । सदरमुकाम फिदिमबाट पनि उलेख्य मानिसहरु पुग्छन् । यहाँ थुम्किला डाँडाहरु छन् । हिउँदमा छेउछाउमा तोरी फूलेर रमणिय देखिने गर्छ ।शनिवार बनभोज खान आउनको संख्या धेरै हुन्छ । विभिन्न टोलिमा पुग्ने गर्छन । सरकारी विदा तथा फिदिम बजार बन्द हुने भएकाले शनिवार घुईचो लाग्ने गर्छ ।

यहाँ अन्य पूर्वाधार थप्न सके महत्पूर्ण हुने यहाँ जानेहरुको प्रतिक्रिया छ । ‘हामिले पटक–पटक यहाँ पुग्ने गरेका छौँ । एकदिन रमाउनका लागि उपयुक्त हुन्छ । नजिक भएकाले पारिवारीक रुपमा जान सकिन्छ’, फिदिमका दिपेश गुप्ताले भने ‘ केहि समय शान्त बातावरणमा रमाउन भन्दा रोजीने गन्तव्य हो ।’

केहि बर्ष अगाडी चौरमात्र थियो । पानी सुक्दै गएको थियो । यसलाई मेची पर्यटन विकास समितिको सहयोगमा संरक्षण गरीएको हो । पोखरी छेउमा बस्ने बेन्चहरु बनाईएको छ । गोल घर छ भने आसपासका दृष्यहरुको छाँया पोखरीमा पर्छ । ‘हामि सानोमा पनि यहाँ घुम्न आउथ्यो । स्कुलबाट पिकनिक जाने, साथीभाई मिलेर घुम्न जाने पनि गथ्र्यो’ स्थानिय बसन्ती माबोले भनिन ‘अहिले त राम्रो बनाईएको छ । मान्छे पनि धेरै आउदा रहेछन् ।’

हिमालका साथै ताप्लेजुङमा रहेकी चर्चित पाथीभरा देविका साथै अन्य गाँउहरुको दष्य देखिन्छ । बनभोजका लागि पूर्वाधार थप्ने, पोखरीको सरक्षण, खानेपानीको उचित प्रबन्ध र प्रचार प्रसारको जरुरी रहेको बताईन्छ । सजिलै पुग्न मिल्ने भएकाले पूर्वाधार थप्न स्थानिय सरकारले चासो देखाउनु पर्ने स्थानिय भनाई छ ।