ताप्लेजुङ/ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणको क्रममा गत बुधवार मृत्यु भएकाको शव आइतबार निकालिएको छ ।
चौथो आधार शिविरमा मृत्यु भएका भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुंतल करारको शव निकालिएको हो । उनीहरूको शव दोस्रो शिविरसम्म झारेर त्यहाँबाट हेलिकप्टरमा राखेर सुकेटार विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो ।
पिक प्रमोसन प्रालिबाट आरोहणका लागि गएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने दक्षिण अमेरिकी मुलुक चिलिका आरोही रोड्रिगो भिभ्यान्चो हराइरहेका छन् । अहिलेसम्म खोजी गरिएको तर कतै नदेखिएकाले अब तत्काल भेट्ने सम्भावना कम हुने खोजीका लागि गएका शेर्पा मिङमा शेर्पा बताउँछन् ।
आरोहणका क्रममा बिरामी परेका दुई भारतीय र एक जर्मनी नागरिकको काठमाडौँमा उपचार भइरहेको छ । उनीहरूलाई हेलिकप्टरबाट तत्काल उद्धार गरी काठमाडौँ लगिएको थियो ।
८ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजंघामा यो सिजनमा ३४ जनाले आरोहण अनुमति लिएका थिए । अन्यको सफल आरोहण भएको कम्पनीहरूले बताएका छन् ।