झापा । अर्जुनधारा जलेश्वरधामले सुरु गरेको तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन चर्चामा आएको छ ।

धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । उनले अर्जुनधारा नगरपालिकाभित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताए ।

‘हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतून् भन्ने हो’, कोषाध्यक्ष जोशीले भने, ‘सँगै मन्दिरमा आउने भक्तजन र अतिथिका लागि समेत भोजनको व्यवस्था गरेका छौं ।’

हालसम्म दाताहरुको सहयोगबाट अक्षयकोषको रकम ३५ लाखभन्दा बढी भइसकेको उहाँले जानकारी दिनुभयो । भविष्यमा १ करोडको अक्षयकोष बनाउने धामको लक्ष्य रहेको छ । अर्जुनधारा धामले सुरु गरेको रात्रीकालीन भोजनमा स्वदेशी तथा विदेशी भक्तजन पाहुनाले भोजन ग्रहण गरिसकेका छन् ।

अर्जुनधाराधाम तीर्थयात्रीहरुको पछिल्लो समय ट्रान्जिट पोइन्ट जस्तै भएको बताउँदै धाम समितिका सदस्य शेखर प्रधानले भने, ‘ताप्लेजुङको पाथीभरा र भारतको कामाक्षादेवीलगायतका धामहरु जाने यात्रु यही आएर बास बस्नुहुन्छ । उहाँहरुको लागि भोजन र आवास दुवैको व्यवस्था छ ।’

‘कोही भोकै नसुतुन्’ भन्ने नाराका साथ यही जेठ ५ गतेदेखि सुरु गरिएको भोजन दैनिक साँझ ७ः३० बजेदेखि ९ बजेसम्म खुवाइने सदस्य प्रधानले जानकारी दिए । उनका अनुसार धाम परिसरमै अतिथि गृहको समेत निर्माण भइरहेको छ ।

नेपाल सरकार तथा नेपाल पर्यटन बोर्डले अजुृनधारा जलेश्वरधामलाई एक सय गन्तव्यको सूचीमा राखेको छ । त्यसअनुरुप बोर्डले प्रचारप्रसारलाई तीव्र बनाएको छ भने स्थानीय सरोकारवालासँग अन्तरक्रिया पनि गरिसकेको छ ।