बिर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर बिर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत मंगलबार भएको फुटबल खेलमा वडा नं ६ विजयी भएको छ ।

स्थानीय डोमालाल रंगशालामा भएको खेलमा वार्ड नं ६ ले वार्ड नं ८ लाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुदेखि नै वार्ड नं ८ माथि हाबी देखिएको वार्ड नं ६ को तर्फबाट पहिलो हाफको २६औं मिनेटमा राज कार्कीले टिमका लागि गोलको खाता खोलेका थिए ।

पहिलो हाफ १–० को स्थितिमा टुंगिएकोमा दोस्रो हाफमा वार्ड नं ६ ले ३ गोल थप्यो । दोस्रो हाफको तेस्रो मिनेटमै वार्ड नं ६ का मौसम लिम्बूले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए भने तेस्रो गोल रोमन भुजेलले गरे । तेस्रो गोल भएको एक मिनेटभित्रै मौसमले नै व्यक्तिगत दोस्रो गोल गरे भने टिमका लागि चौथो गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच विजयी टिमका राज कार्की घोषित भए । बुधबार वार्ड नं ४ र ९ बीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष टिका संग्रौलाले जानकारी दिए ।

वडा नं ६ का वडाध्यक्ष सूर्य कन्दङ्वा र वडा नं ८ का वडाध्यक्ष अजय कार्कीले संयुक्तरुपमा रेफ्रीलाई बल हस्तान्तरण गरेर खेल सुरु भएको थियो ।

यो प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनोट गरी एउटा नगरस्तरीय सशक्त टिम तयार गर्ने उद्देश्य राखिएको आयोजक समितिका अध्यक्ष संग्रौलाले दोहोरयाएका छन् ।