झापा । अर्जुनधारा नगरपालिकाले आफ्ना नगरभित्रका सहकारीसँग सहकारी ऐन तर्जुमासम्बन्धी अन्तरक्रिया गरेको छ ।

नगरको सभाकक्षमा आयोजित अन्तरक्रियामा आगामी सहकारी ऐन नियम तर्जुमाका सुझावहरु सहकारीका प्रमुख तथा प्रतिनिधिसँग माग गरिएको नगर प्रमुख हरिकुमार रानाले बताउनुभयो । नगरपालिकाले संकलित सुझावहरु ग्रहण गर्दै आगामी ऐन नियममा प्राथमिकता दिने प्रमुख रानाले बताउनुभयो ।

कर, दर्ता, नवीकरण, सदस्यता र कार्यक्षेत्र लगायतका विषयहरुमा सुझावको रुपमा आएको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिनुभयो ।

नगर प्रमुख रानाको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रियामा प्रदेश सांसद बृख प्रधानको विशेष आतिथ्यता रहेको थियो । पाण्डपुर सहकारीका अर्जुन रेग्मी, अर्जुनधारा कृषक सहकारी संस्थाका धनपति खनाल, अयिभान नेपाल सहकारी संस्थाका व्यवस्थापक हरि वाग्ले, सहारा नेपाल सहकारी संस्थाका दिनेश निरौला, साना किसान कृषि सहकारी संस्थाका महाप्रबन्धक गोपी लुइँटेल लगायतले सुझावको रुपमा आफ्ना कुरा राख्नुभएको थियो ।

अर्जुनधारा नगर कार्यक्षेत्र बनाई संचालनमा रहेका ४६ वटा सहकारी संस्था छन् । त्यसमध्ये ३९ वटा सहकारीले सहभागिता जनाई सुझाव पेश गरेको प्रशासकीय अधिकृत विजयकुमार शर्माले जानकारी दिनुभयो ।