झापा । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार वटा जंगली हात्ती देखा परेपछि स्थानीयलाई घरबाहिर ननिस्कन प्रहरीले आग्रह गरेको छ ।

बिहीबार बिहान चार बयस्क हात्ती चिया बगानमा बसिरहेको हुँदा स्थानीयलाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको हो ।बाहुनडाँगी चौकीदेखि करिब डेढ किलोमिटर पूर्व धिमाल बस्ती नजिकै रहेको गोपाल निरौलाको चिया बगानमा ११ बजेतिर हात्ती देखा परेका थिए । हात्तीलाई चियाबारीबाट गाउँ पस्न नदिन र त्यहाँबाट भारततिर लखेट्नका लागि डिभिजन बन कार्यालय झापालाई अनुरोध गरिएको थियो ।

त्यसपछि वन डिभिजन झापाका कर्मचारी, सशस्त्र प्रहरी र जनपथ प्रहरीले हात्ती रहेको स्थानलाई घेरा हालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताए ।

उनका अनुसार दिनभर हात्तीलाई बगानमै छेकेर राख्ने र साँझ परेपछि भारततिर लखेट्ने योजना रहेको छ । सो अवधिसम्म स्थानीयबासीलाई घरबाट बाहिर ननिस्कन र हात्तीलाई नजिस्क्याउनका लागि प्रहरीले अनुरोध गरिरहेको छ ।