एजेन्सी । भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ ।

भारतमा लोकसभा चुनावसँगै केही राज्यमा विधानसभा चुनाव पनि भएको थियो । भारतको आन्ध्र प्रदेश, अरुणाञ्चल प्रदेश, ओडिशा, तमिलनाडु र सिक्किममा विधानसभा चुनाव पनि भएको थियो । यसको नतिजा पनि आजै आउने भएको छ ।

सिक्किममा एउटा लोकसभा सिट रहेको छ भने सिक्किम विधानसभामा ३२ सिट रहेको छ । सिक्किममा सरकार बनाउन १७ सिट आवश्यक पर्छ ।

मुख्यमन्त्री पवनकुमार चाम्लिङ लगातार छैटौँ कार्यकालका लागि सिक्किमको मुख्यमन्त्री बन्ने दाउमा रहेका छन् । तर उनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टलाई पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले कडा टक्कर दिएको छ ।

पछिल्लो मतपरिणामअनुसार एसकेएमले अहिलेसम्म ७ सिटमा जित हात पारेको छ भने ३ सिटमा अग्रता बनाइरहेको छ । चाम्लिङको नेतृत्वको पार्टी एसडीएफले भने अहिलेसम्म ४ ठाउँमा जित हात पार्दा ४ ठाउँमा अग्रता बनाएको छ ।

चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री रहेका छन् । पवन चाम्लिङले नाम्ची र पोकलोक कामराङ क्षेत्रमा पनि उनी अगाडि रहेका छन् । भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड पवन चाम्लिङको नाममा रहेको छ ।

कुनै बेला चाम्लिङकै पार्टीमा रहेका गोलेले अहिले सिक्किमले परिवर्तन चाहेको बताएका छन् । विपक्षी दलले चाम्लिङलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै आएका छन् ।

भाइचुङ भुटियाको हाम्रो सिक्किम पार्टी भने सबै क्षेत्रमा पछाडि रहेको छ । भाइचुङको पार्टी प्रतिस्पर्धामा नरहे पनि एसडीफलाई धक्का पुर्‍याउन सक्ने देखिएको छ ।