मेचीनगर । दोस्रो वडाध्यक्ष कप अन्तर माविस्तरीय खेलकुद प्रतियोगिता बिहीबारबाट झापाको मेचीनगर वडा नम्बर ६ मा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर ६ नम्बर वडाका वडा सदस्य राजकुमार श्रेष्ठले गर्नुभएको थियो ।

६ नम्बर वडाले आयोजना गरेको प्रतियोगितामा फुटबल, क्रिकेट र कराते गरी तीन विधाका खेललाई समेटिएको छ । काँकरभिट्टा माविको खेलमैदानमा फुटबल र कराते तथा तुर्केनी खेल मैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको छ ।

प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजी विद्यालयले सहभागिता जनाएका छन् । करातेअन्तर्गत छात्रा तथा छात्रतर्फ २० देखि ५० केजी तौल समुहमा खेल सम्पन्न भएको छ । २० केजी तौल समुहमा छात्रतर्फ शुभम ओझा, भूमिक खरेल पहिलो र दोस्रो भए भने अगनेश गुरुङ र सिदार कोइराला तेस्रो भए ।

यसैगरी, छात्रतर्फको २५ केजी तौल समुहमा मनिष राजवंशी, द्विवित्री ढकाल पहिलो र दोस्रो भए । सरोज बुढाथोकी र प्रनिष शेर्पा तेस्रो भए ।

छात्रातर्फको ३० केजी तौल समुहमा रेश्मी ओझा, सित खरेल र अस्मिता दवाडी क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । ३० केजी छात्रतर्फ रोहन श्रेष्ठ, गणेश राई प्रथम र दोस्रो भए भने सम्मान खड्का र प्रिन्स पोखरेल तेस्रो भए ।

२५ केजी छात्रातर्फ मनिषा कट्वाल, दिपना मगर र एञ्जला गुरुङ पहिलो, दोस्रो र तेस्रो भए । ३५ केजी छात्रतर्फ विवेक चापागाईँ, रोशन नेवार प्रथम र दोस्रो भए । निश्चल भण्डारी र प्रिन्स विक तेस्रो भए । विभिन्न तौल समुहममा करातेतर्फ विजयी खेलाडीहरुले गोल्ड मेडल प्राप्त गर्ने छन् ।

क्रिकेटतर्फ छात्रा तथा छात्रतर्फको खेलमा नर्थ प्वाइन्ट अंग्रेजी मावि विजयी भएको छ । छात्रातर्फ १० र छात्रतर्फ ५ विकेटले नर्थ प्वायन्टले तारापुञ्ज माविलाई पराजित गरेको हो ।

उता फुटबलतर्फ नर्थ प्वाइन्ट र तारापुञ्ज मावि सेमिफाइनल प्रवेश गरेका छन् । नर्थ प्वइन्टले पशुपति माविलाई ४-१ गोल अन्तरले पराजित गदैं सेमिफाइनलको यात्रा तय गरेको हो । नर्थ प्वाइन्टका लागि खेलको म्यान अफ दी म्याच घोषित सन्तोष मोतेले २३, ३६ र ३९ औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । उनले ४१ औँ मिनेटमा थप १ गोल गरे । पशुपतिका लागि अभय रसाइलीले खेलको १६ औँ मिनेटमा एकमात्र सान्त्वना गोल गरेका थिए ।

तारापुञ्ज माविले सूर्याेदय माविलाई ४ ० गोलअन्तरले पराजित गरी सेमिफाइनलको यात्रा सुरक्षित गर्यो । तारापुञ्जका लागि रोहन राईले १९ र ४१आँै तथा सुमन बुढाथोकीले २५ र ३७औँ मिनेटमा २-२ गोल गरेका थिए ।

फुटबल प्रतियोगितामा नगरभित्रका सात वटा विद्यालयले सहभागिता जनाएका छन् । जेठ १२ गते हुने प्रतियोगिताको विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।