गान्तोक । सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष पीएस गोलेले सोमबार सिक्किमको नयाँ मुख्यमन्त्रीका रुपमा सपथ खाँदैछन् ।

सिक्किमको राजधानी गान्तोकमा रहेको पाल्जोर स्टेडियमा हुने एक समारोहका बीच सिक्किमका राज्यपाल गंगा प्रसादले गोलेलाई मुख्यमन्त्रीको सपथ खुवाउनेछन् ।

गान्तोकको पाल्जोर स्टेडियम सोमबार हुन लागेको एसकेएम पार्टीको नयाँ सरकारको सपथ ग्रहण समारोहलाई पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले बहिष्कार गर्ने निर्णय गरेको छ । पार्टीका प्रवक्ता भीम दाहालले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकारको सपथ ग्रहण समारोहमा आफूहरु सहभागी नहुने जानकारी दिएका छन् ।

एसडीएफले जनप्रातिनिधित्व ऐनको प्रावधान तथा आशय र सर्वोच्च न्यायालयको निर्णयलाई नजरअन्दाज गर्दै सम्बन्धित निकायबाट एसकेएमका अध्यक्ष पीएस गोलेलाई मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गराइनु आश्चर्यजनक मात्रै नभएर दूर्भाग्यपूर्ण भएको भन्दै सपथ ग्रहणमा सहभागी नहुने जनाएको छ ।

साथै पीएस गोले भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएर कारावासको सजाय काटेर बहिर आएको वर्षदिन पनि नपुगेको बताउँदै उसले एसकेएमले कानुन तथा व्यवस्थाको संकट उत्पन्न गराएको आरोप लगाएको छ ।

एसकेएम पार्टीले सरकारै नभैकन सिक्किमभरि व्यापकरुपमा विध्वंसात्मक गतिविधिहरु सुरु गरेको र त्राही–त्राहीको परिवेश सिर्जना गरेको एसडीएफले आरोप लगाएको छ ।

एसकेएम पार्टीले सरकार नबन्दै यस्तो कानुन तथा व्यवस्थाको संकट राज्यमा खडा गरेकोले यसबाट सिक्किमेहरुको भविष्य असुरक्षित बन्ने एसडीएफ विधायक दलको बैठकले ठहर गरेको विज्ञप्तिमा जनाइएको छ ।

ढल्यो २५ वर्षे एसडीएफ सत्ता

सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ ।

लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट९एसडीएफं लाई सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो ।

सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ ।