बिर्तामोड । असार दोस्रो साता मिस्टर एन्ड मिस टिन झापा हुने भएको छ ।

काठमाडौँको ग्रेस इभेन्टस्को प्रस्तुतिमा झापाको बिर्तामोडमा असार १४ गते उक्त कार्यक्रम हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जेठ १८ गते हुने अडिसनबाट २५ जना प्रतियोगीलाई छनौट गरिने इभेन्टस्की प्रेसिडेन्ट प्रितिका सिवाकोटीले बताइन् । उनका अनुसार छनौट भएका प्रतियोगीलाई करिब २७ दिनको बन्द प्रशिक्षण राखेर विभिन्न विषयमा तालिम दिइनेछ ।

उनका अनुसार नेतृत्व विकास, महिला हिंसाविरुद्ध, महिला बेचविखनविरुद्ध सचेतना, मानवअधिकार, मेकअप, नृत्य, स्वास्थ्य सचेतना, मोटिभेसनलगायतको तालिम दिइन् । तालिमका अवधिमा उनीहरुले प्राप्त गरेको अंकका आधारमा उत्कृष्टलाई एकपछि अर्को गर्दै छानिने पनि उनले बताइन् ।

१३ देखि १९ वर्ष उमेर समूहका सहभागीलाई मिस नेपालकी टप टेन एलिसा अधिकारीले प्रशिक्षण दिनेछिन् । करिब १४ लाख रुपैयाँको खर्चमा गरिने यस इभेन्टकी विजेताले नगद ७० हजार र विभिन्न उपहार पाउने कार्यक्रम संयोजक विजय केसीले जानकारी दिए ।

त्यस्तै, फस्ट रनरअपले नगद ५० हजार र सेकेन्ड रनरअपले नगद ३० हजारसहित विभिन्न उपहार पाउनेछन् । कार्यक्रममा इभेन्ट म्यानेजर अभिषेक निरौला र संरक्षक तथा टाइमलेस होटकलका सञ्चालक रोचक बस्नेतले इभेन्टका बारेमा प्रष्ट पारेका थिए ।