झापा । सहारा नेपालको आयोजनामा बिर्तामोड ७ मा शुक्रबार बृहत पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरलाई बिर्तामोड नगरपालिकाले व्यवस्थापन गरेको हो ।

सहाराका पशु चिकित्सक डा. कमलेश्वर भाटका अनुसार शिविरमा तीन सय घरधुरीका छ हजार पशुपंक्षी लाभान्वित भएका छन् । अधिकांश स्थानीयले शिविरमै आफ्ना घरपालुवा जनावर लिएर आएका थिए । तीनजना पशु चिकित्सकसहित आधा दर्जन पशु प्राविधिकले पशु तथा पंक्षीको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा गाई, भैँसी, सुंगुर, बाख्रा, कुकुर, कुखुराको स्वास्थ्य उपचार गरिएको डा. भाटले जानकारी दिए । प्रयोगशाला सेवासहितको शिविरमा पशुको बन्ध्याकरण, गर्भ परीक्षण, बाँझोपन निवारण, परजीवी नियन्त्रण, पिडिपी जाँच, गोबर परीक्षण, साल झार्ने काम गरिएको थियो ।

त्यस्तै, भिटामिनको सुइँ लगाउने तथा कृत्रिम गर्भधारण गरिएको पशु स्वास्थ्य शिविरमा स्थानीयबासीलाई पशु पालनसम्बन्धी परामर्श तथा पशु बीमासम्बन्धी जानकारी दिइएको डा. भाटले बताए ।

करिब एक लाख ८० हजार रुपैयाँको निःशुल्क औषधि समेत वितरण गरिएको शिविरमा डा. भाटसहित सहाराका पशु चिकित्सक डा. विष्णु कुशुवाह, हिफर इन्टरनेशनलका डा. छत्र क्षेत्री, प्राविधिक प्रविन कोइराला, सिर्जना आचार्य, कुसुम उप्रेतीले सेवा पुर्याएका थिए ।

नगरपालिकाको तर्फबाट प्राविधिक सानुमाया श्रेष्ठ, बेनुप बस्नेत, विष्णु भट्टराई, निमेष थापा, तारणी चौधरी, भगिरथ खतिवडाले शिविरमा पशु स्वास्थ्य उपचार र परीक्षणमा सेवा दिएका थिए ।

शिविरमा सबैभन्दा धेरै कुखुराका लागि औषधि वितरण गरिएको थियो । झन्डै चार हजार कुखुराका लागि कृषकले औषधि लगेको डा. भाटले बताए । कुखुरापछि बाख्रा, गाई, भैँसी, कुकुर र सुंगुरको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको थियो ।

शिविरको एक कार्यक्रमका बीच बिर्तामोड ७ का वडा अध्यक्ष गंगाबहादुर भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सुरेन राजवंशी, शाखा अधिकृत देवराज कार्की, सहारा साकोस बिर्तामोड कार्यालयका प्रमुख घनश्याम रायलगायतको उपस्थिति रहेको थियो ।