इलाम। इलाममा सञ्चालित माइभ्याली गोल्डकपको पाँचौं संस्करणमा आयोजकले तत्काल चार लाख घाटा व्यहोरेको छ ।

विभिन्न दाता तथा प्रायोजकबाट रकम उठ्न बाँकी रहेपछि पूर्वी पहाडी जिल्लाको प्रतिष्ठित गोल्डकप पनि अन्य गोल्डकपझैँ मारमा परेको हो । झापालगायत अन्य जिल्लामा हुने गोल्डकपमा पनि दाता र प्रायोजकले कबोल गरेबमोजिमको रकम नदिने, दिँदा पनि ढिलो गरी दिने प्रवृत्तिले आयोजकहरु मारमा पर्दै आएका छन् ।

यसैबीच, माइभ्याली गोल्डकप आयोजकले विभिन्न दाता र प्रायोजकले दिने भनिएको रकम २१ लाख ३२ हजार उठ्न बाँकी रहेको भन्दै हिसाब सार्वजनिक गरेपछि अहिलेलाई चार लाखको हाराहारीमा आयोजकले घाटा व्यहोरेको छ । गोल्डकप सम्पन्न भएको अढाइ महिनापछि आइतबार इलाममा आयव्यय सार्वजनिक गर्दै क्लबका अध्यक्ष धिरेन चेम्जोले पाउनुपर्ने रकम खातामा जम्मा भएको खण्डमा १७ लाखभन्दा बढी नाफा हुने बताए ।

पूर्वी पहाडको सबैभन्दा ठूलो धनराशिको माइभ्याली गोल्डकपको पाँचौं संस्करणको आयव्यय सार्वजनिक गर्दै आयोजकले सबै प्रायोजक र दाताहरुले कबोल गरेको रकम संकलन भएमा १७ लाख २५ हजार ८६२ रुपैयाँ नाफा हुने आयोजकले जनाएको हो ।
आय व्यय सार्वजनिक कार्यक्रममा क्लबका कोषाध्यक्ष कमल सुवेदीले पाँचौं संस्करणमा ६४ लाख ८३ हजार ३३३ रुपैयाँ आम्दानी भएको बताए ।

यसरी नै प्रतियोगिता सञ्चालन र पुरस्कारमा ६८ लाख ८९ हजार ४७१ रुपैयाँ खर्च भएको बताएका छन् । प्रतियोगिताको खर्चमध्ये चार लाख ४३ हजार ७८९ रुपैयाँ विभिन्न शीर्षकका खर्चहरु भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । प्रायोजक र दाताहरुले सहयोग प्रतिवद्धता गरेको रकममध्ये २१ लाख ३२ हजार उठ्न बाँकी रहेको र सो रकमबाट भुक्तानी दिन बाँकी भुक्तानी गरेर १७ लाख २५ हजार आठ सय ६२ रुपैयाँ नाफा हुने जनाइएको छ ।

आयोजनाको १५ दिनमै आय व्यय सार्वजनिक गर्ने भने पनि सहयोगी र प्रायोजकबाट समयमै सहयोग लिन नसक्दा अहिले मात्र सार्वजनिक गरिएको क्लबका अध्यक्ष धिरेन चेम्जोङ्ले बताए । उनले स्थानीय मिडियाहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने बताए ।