तेजन खड्का

मोरङ मिक्लाजुङ—४ जरुवाका सुवास विश्वकर्मा १५ वर्षदेखि मूर्तिकला पेसामा क्रियाशील छन् । यही पेसालाई नै जीविकोपार्जनको माध्यम बनाएका सुवास निकै सुन्दर र कलात्मक मूर्तिहरु बनाउँछन् । जुन मूर्ति देखेर सर्वसाधारण दंग पर्ने गरेका छन् ।

आफ्नो अघि कुनै देवी देवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मूर्ति बनाउने उनको कलाले सबैलाई मोहित पारेको छ । सानैदेखि चित्रकला र मूर्तिकलामा निकै रुची भएका सुवास अहिले जिल्लामा अब्बल मूर्तिकारको रुपमा परिचित हुँदै गएका छन् । उनले बनाउने मूर्ति र उनले मूर्ति बनाएको हेर्नेको पनि घुइँचो लाग्ने गरेको छ ।

विभिन्न देवी देवताहरु, भगवान, सहिद र जनावरहरुको दुरुस्तै आकर्षक आकृति झल्किने मूर्ति बनाउने क्षमता भएका ३९ वर्र्षीय विश्कर्माले यही पेसाबाट सामान्य गुजारा चलिरहेको बताए । हालसम्म ३ सयभन्दा बढी मूर्ति उनले बनाइसकेका छन् । उनले विभिन्न मन्दिरहरुका लागि दर्जनभन्दा बढी मूर्तिहरु निर्माण गरिसकेका छन् ।

अहिले विश्कर्मालाई मूर्ति बनाउन भ्याइ नभ्याइ छ । पूर्वाञ्चलभरिबाट मूर्ति बनाउन अर्डर आउने गरेको उनले बताए । एउटा मूर्ति बनाएको १५ हजारदेखि ३० हजारसम्म पाउने गरेको उनले बताए । मूर्तिकार मञ्जुल मितेरीको प्रेरणाबाट यस क्षेत्रमा हात हालेको बताउने उनी पित्तल, तामाजस्ता लगायत धातुबाट बनाइने परम्परागत मूर्तिकला मात्रै होइन ढुङ्गामा कुँदेर पनि राम्रा मूर्ति तयार पार्छन् ।

यो पेसाबाट नाम र दाम दुवै मिल्ने गरेको सुवासले बताए । मूर्तिको काम गर्दै गर्दा भेटिएका उनले भने, ‘ सिप र मेहनत अनुसारको आम्दानी हुन्छ ।’ कुनै राम्रो अवसर पाए सुवासले चामत्कारिक कला देखाउन सक्ने सम्भावना रहेको स्थानीयको भनाई छ ।