झापा । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहिबार चाइनिज ताइपेइसँग भएको मैत्रीपूर्ण खेलमा बराबरीको नतिजा हासिल गर्यो । पहिलो हाफमा १ गोलले पछाडी रहेको नेपालले दोस्रो हाफमा गोल फर्काएको थियो ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका प्रशिक्षक योहान कालीनले खेलाडीहरुको प्रदर्शन देखेर आफू सन्तुष्ट रहेको अभिव्यक्ति दिएका छन् ।

‘आजको प्रदर्शनबाट एकदम खुसी छु । आज खेलमा गोल पनि भयो जुन मेरो प्रशिक्षणमा भएको पहिलो गोल पनि हो । एक गोलले पछाडी परेपछि खेलाडीहरुले अझै मिहिनेत गरे र त्यसको प्रतिफल हात लाग्यो’, उनले थपे, ‘खेलाडीहरु जुन किसिमले खेलमा डटेर लागे, त्यसको प्रशंसा गर्नुपर्छ । नतिजा जतासुकै पनि जान सक्थ्यो र हाम्रो पक्षबाट खेल निकै राम्रो रहयो ।’

प्रशिक्षक कालीनले मैत्रीपूर्ण खेलले विश्वकप छनोटको लागि केहि सहयोग पुग्ने बताए । ‘पछिल्लो केहि वर्ष राष्ट्रिय टोलीको लागि कठिन रहयो । अहिले नै सबै सुध्रिन्छ भन्न सकिन्न तर हामी सक्दो प्रयास गर्दैछौं । हामीसँग निकै राम्रा युवा खेलाडी छन् र त्यसैअनुसार टोलीलाई अगाडी बढाउने लक्ष्य राखेका छौं’, उनले भने ।

राष्ट्रिय टोलीको जिम्मेवारी पाएपछि ४ मैत्रीपूर्ण खेल खेलिसकेको नेपालले छोटो समयमा नै राम्रो सुधार गरेको कालिनको बुझाइ छ । ‘हामीले चौथो खेलमा आइपुग्दा पहिलो पटक ओपन प्लेमा गोल खायौं । बलियो टोलीविरुद्ध गोल फर्काउन पनि सक्यौं । हामीले एक अर्कालाई बुझेर बलियो रणनीति बुन्न सकिने देखेका छौं । अब बिस्तारै रणनीतिक पाटोमा अझै मिहिनेत गरेर अगाडी बढ्नुपर्ने देखेको छु । हामीसँग अझै धेरै समय छ र यसबिचमा सुधार पनि त्यसै अनुसार आउनेछ’, कालिनले थपे ।