एजेन्सी- आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १-० ले परजित गर्दै च्याम्पियन बनेको हो ।

पोर्चुगल सन् २०१६ को युरोकपपछि अर्को ठुलो प्रतियोगिता नेसन्स लिगमा च्याम्पियन बन्न सफल भएको हो । रोनाल्डोको ५३औं ह्याट्रिक मद्दतमा पोर्चुगलले सेमिफाइनलमा स्वीट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

पोर्टोमा भएको खेलमा पोर्चुगललाई च्याम्पियन बनाउन दोस्रो हाफमा गोन्कालो गुइडेसले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६०औं मिनेटमा बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए ।

गोन्कालोको ६०औं मिनेटमा बर्नाडो सिल्भाको पासमा पेनाल्टी बक्स नजिकैबाट गरेको प्रहार गोलरक्षकको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा घरेलु टोलीले नेदरल्यान्डलाई दवावमा राखेपनि गोल गर्न असफल भएको थियो । ११औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको प्रहार डिफेन्डर ब्लिन्डले विफल पारिदिएका थिए ।

१२औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरबाट आएको बललाई विलियन कार्भाल्होको हेड गोलरक्षक जस्पर सेलिसनले सहजै बचाए । २८औं मिनेटमा रोनाल्डोको शक्तिशाली प्रहार भर्जिल भान डाइकले क्लियर गरिदिदा पोर्चुगल अग्रता लिनबाट चुकेको थियो । ३१औं मिनेटमा रोनाल्डो पुनः गोल गर्नबाट चुके ।

दोस्रो हाफमा भने नेदरल्यान्डले घरेलु टोलीलाई दवावमा राखेपनि पोर्चुगलको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।

५७औं मिनेटमा नेदरल्यान्डका मेम्फिस डिपेले गोल गर्न सकेनन् । त्यसको ३ मिनेटपछि पोर्चुगलका गोन्कालो गुइडेजले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए ।

६६औं मिनेटमा डोनी भान डि भिक गोल गर्न चुक्दा बराबरीको मौका गुम्यो । खेलको अन्तिम समयतिर पोर्चुगलले २ मौका गुमाएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा पोर्चुगल १-० ले नै विजयी हुन सफल भयो ।