एजेन्सी- भारतले एकदिवसीय विश्वकपअन्तर्गत आइतबार भएको खेलमा साविक विजेता अष्ट्रेलियालाई पराजित गरेको छ ।

भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटियो ।

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ६९ रनको योगदान दिए । ४० ओभरको अन्तिम बलमा भुवनेश्वर कुमारले एलवी डब्लू आउट गर्नु अघि स्मिथले ७० बलमा ५ चौका र १ छक्का प्रहार गरे । सुस्त गतिमा सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका रुपमा १४ ओभरको पहिलो बलमा कप्तान आरोन फिन्चलाई ३६ रनमा गुमाएको थियो ।

दुई रन लिने क्रममा रन आउट हुनुअघि फिन्चले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका रुपमा वार्नर ५६ रनमा क्याच आउट भए । युजभेन्द्र चाहलले भुवनेश्वरबाट क्याच गराउनु अघि वार्नरले ८४ बलमा ५ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि स्मिथ र उस्मान खवाजाले ६९ रनको साझेदारी गर्दै केही आशा देखाएका थिए । तर, ३७ ओभरको चौथो बलमा भुवनेश्वर कुमारले खवाजालाई ४२ रनमा बोल्ड आउट गरेपछि भारत खेलमा फर्किएको थियो । खवाजाले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

मार्कस स्टोइनिसलाई भुवनेश्वरले शुन्यमा बोल्ड आउट गरे । ग्लेन म्याक्सवेलले १४ बलमा ५ चौका सहित २८ रन जोड्दै आक्रमक इनिङ खेलेपनि त्यसलाई लामो समय निरन्तरता दिन सकेनन् । नाथन कुल्टर नाईल ४ र प्याट कम्मिन्स ८ रनमा आउट भए ।

तल्लोक्रममा विकेटकीपर एलेक्स केरिले ३५ बलमा ५ चौका र १ छक्का सहित ५५ रनमा अविजित रहेपनि विशाल लक्ष्य पुरा गर्न प्राप्त भएन । भारतका लागि जसप्रित बुमराह र भुवनेश्वर कुमारले समान ३ विकेट लिए । युजभेन्द्र चाहलको नाममा पनि २ विकेट रह्यो ।

त्यसअघि लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५२ रन बनायो । भारतका लागि ओपनर शिखर धवनले शतक प्रहार गरे । धवनले ३३ ओभरको चौथो बलमा मार्कस स्टोइनिसलाई १ रन प्रहार गर्दै ९५ बलमा आफ्नो वान डे करियरको १७ औं शतक पुरा गरे । ३७ ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा बाउन्ड्रीलाईन नजिकै क्याच आउट हुनुअघि धवनले १ सय ९ बलमा १६ चौका सहित १ सय १७ रन बटुले ।

ओपनर रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि २२.३ ओभरमा १ सय २७ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । यी दुईबीचको साझेदारी नाथन कुल्टर नाईलले कट निकाल्दै विकेटकीपर एलेक्स केरिबाट क्याच गराउँदै रोहितलाई पेभिलिएन फर्काए । रोहितले ७० बलमा ३ चौका र १ छक्का सहित ५७ रनको योगदान दिए ।

तल्लोक्रममा हार्दिक पान्ड्याले आक्रमक ब्याटिङ गर्दै २७ बलमा ४ चौका र ३ छक्का सहित ४८ रनमा क्याच आउट भए । प्याट कमिन्सको ४६ ओभरको पाँचौ बलमा लो फुलटस बलमा ठूलो शट खेल्ने धुनमा कप्तान फिन्चबाट पान्ड्या क्याच आउट भए । हार्दिक शून्यमा खेलिरहेको अवस्थामा ३८ ओभरको तेस्रो बलमा विकेटकीपर एलेक्स केरिले क्याच छोड्दै जीवनदान दिएका थिए । त्यस्तै कप्तान विराट कोहलीले ७७ बलमा ४ चौका र २ छक्का सहित ८२ रनमा क्याच आउट भए ।

महेन्द्रसिंह धोनीले पनि आक्रमक ब्याटिङ गर्दै विशाल योगफलसम्म पुर्याए । धोनीले १४ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा क्याच आउट भए । केएल राहुल ११ रनमा अविजित रहे । अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक २ विकेट लिए । त्यस्तै प्याट कमिन्स, नाथन कुल्टर नाईल र मिचेल स्टार्कले समान १ विकेट हात पारे ।