दमक । संघीय सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम झापाको दमकमा पनि शुरु भएको छ ।
आज बिहीबार नगरपालिकामा एक औपचारिक कार्यक्रम गरी १७६ युवालाई रोजगारी प्रदान गरिएको जानकारी गराईएको हो ।
दमकमा २ हजार १५० जना बेरोजगारहरु सूचीकृत भए पनि यस वर्ष भने नगरपालिकाले १७६ जनाले मात्र रोजगारीका अवसर पाएको नगरपालिकाले जनाएको छ । नगरपालिका रोजगार संयोजक राजेन्द्र खनालका अनुसार वेरोजगार युवाहरुलाई उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा एक महिनाका लागि रोजगारी प्रदान गरिएको हो ।
प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरप्रमुख रोमनाथ ओलीले यस पटक बृक्षारोपण र सरसफाईका क्षेत्रमा रोजगारी प्रदान गरिएको र आगामी वर्ष अन्य क्षेत्रहरुमा रोजगारीको अवसर प्रदान गरिने बताए ।
शुभकामना मन्तव्यका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका सदस्य होमबहादुर थापाले स्वदेशमा नै आत्मनिर्भरताको सिर्जना सरकारको लक्ष्य भएको भन्दै बेरोजगार युवाहरुलाई तत्कालका लागि अवसर प्रदान गर्न यो कार्यक्रम ल्याईएको बताए ।
बेरोजगार युवाहरुलाई बिभिन्न क्षेत्रमा रोजगारीका अवसर सिर्जना गराउन सरकार प्रतिवद्ध रहेको भन्दै एकै पटक सबैलाई नपुगे पनि यो कार्यक्रमले आगामी दिनमा थप युवाहरुलाई पनि समेट्ने उनले विश्वास व्यक्त गरे ।