झापा । अन्ततः बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले सरकारले निर्णय गरेको क्षतिपूर्ति नलिने घोषणा गरेका छन् ।

नगरपालिकाको सभाहलमा मंगलबार पत्रकार सम्मेलन गर्दै मेयर सिवाकोटीले आन्दोलनका क्रममा घरमा भएको तोडफोड र गाडीमा भएको आगजनीको सरकारले ३० लाख रुपैयाँ दिने गरेको निर्णय आफूले नलिने घोषणा गरेका हुन् ।

सरकारबाट ३० लाखको क्षतिपूर्ति दिने निर्णय गरेसँगै विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि उनी आलोचित बन्दै आएका थिए । हिंसात्मक आन्दोलनका क्रममा घरको सिसा फुट्नुका साथै गाडीमाथि तोडफोड र आगजनी भएपछि मेयर सिवाकोटीले इन्सुरेन्समार्फत बिमा रकम नलिएको बताएका थिए ।

तर, फलोअपका रुपमा मेयर सिवाकोटीले बिमावापतको रकम लिएको फेरि समाचार प्रकाशमा आएपछि मंगलबार पत्रकार सम्मेलन गरी सरकारबाट क्षतिपूर्तिवापतको रकम नलिने घोषणा गरेका हुन् ।

सरकारबाट क्षतिपूर्ति पाउन लागेको आफूलाई कुनै जानकारी नभएको बताएका उनले आफ्नो आर्थिक क्षति धेरै भए पनि रकम नलिने बताए । उनले भने, ‘सरकारले दिन्छ भने पनि म लिन्नँ, र लिन पनि मिल्दैन ।’