झापा । लक्की मिडिया हाउस चितवनको आयोजनामा मेट्रो फर्निचर चलचित्र ‘साईनो’को विशेष शो भव्यरुपमा सम्पन्न भएको छ ।

चलचित्र ‘साईनो’को विशेष शोको अवसरमा नेपाली चलचित्र क्षेत्रमा विगत लामो समयदेखि राष्ट्रको कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा अतुलनीय योगदान दिनुभएका चार जना वरिष्ठ कलाकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पहिलो नेपाली चलचित्र ‘आमा’बाट आफ्नो कलाकारिता शुरु गरेकी नेपाली सिने जगतकी प्रथम नायिका भुवन थापा चन्द, प्रथम चरित्र अभिनेत्री चैत्यदेवी सिंह, प्रथम हास्य साम्राज्ञी बसुन्धरा भुसाल एवम् बरिष्ठ चलचित्रकर्मी ऋद्दीचरण श्रेष्ठ रहनुभएको छ ।

नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रर्वद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले चर्चित कलाकारहरुको साथमा चलचित्र ‘साईनो’को बिशेष शो चितवनमा गरेको थियो । बिशेष शोमा बिभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

दर्शकहरुले चलचित्र ूसाईनोू मौलिक कथावस्तुमा आधारित पूर्ण पारिवारिक चलचित्र रहेको प्रतिक्रिया दिएका थिए । फिल्म अबधिभर दर्शकहरुले पूर्णरुपमा मनोरन्जन लिनुका साथै चलचित्रको तारिफ गरेका थिए । बिशेष शोमा नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार नीर शाह प्रमुख अतिथि रहनुभएको थियो ।

यसैगरी चितवनका युवाउद्यमी तथा समाजसेवी रुबिन रामुदामु कार्यक्रमको बिशिष्ट अतिथि रहनुभएको थियो । चलचित्र हेरेपछि प्रतिक्रिया दिदै रामुदामुले चलचित्र ‘साईनो’ लामो समयको अन्तरालपछि दर्शकमाझ मौलिक कथाबस्तु बोकेको उत्कृष्ट चलचित्र आएको बताउनुभयो । साथै चलचित्र ‘साईनो’ले आमदर्शकको मन जित्न सफल हुने विश्वास व्यक्त गर्दै साइनो टीमलाई शुभकामना दिनुभयो ।

बिशेष शोमा फिल्म ‘साईनो’ का कलाकारहरु नीता ढुंगाना, मिरुना मगर, राजकुमार, राजा राजेन्द्र पोख्रेल, भुवन थापा चन्द, चैत्यदेवी सिंह, बसुन्धरा भूसाल लगायत फिल्म निर्माता, निर्देशक तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिनुभयो ।

लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा प्रिमियर शो, विशेष शो र च्यारीटी शो गर्दै आएको छ । कार्यक्रम लक्की मिडिया हाउसका निर्देशक दिपक खड्काको संयोजकत्व तथा मिडिया हाउसका अध्यक्ष हरि कार्की “लक्की“ को अध्यक्षतामा सम्पन्न भएको हो ।