राजु पौडेल
झापा । सरकारले असार देखि भदौ सम्म तीन महिना नदीजन्य सामग्रीको उत्खननमा रोक लगाएको भएपनि नेपाल भारत सीमामा पर्ने मेची र तिरिङ नदीको चरम दोहन भइरहेको पाइएको छ । सरकारी बन्देजको बेवास्ता गर्दै इलाम र झापाको सिमानामा पर्ने यी नदीबाट दैनिक सयौँ ट्याक्टर ढुङ्गा उत्खनन् भइरहेको भएपनि स्थानीय सरकार र प्रशासन मुकदर्शक छन् ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १ तिरिङका स्थानीय तस्करले इलामको रोङ गाउपालिका वडानम्बर ६ दुधेचौरी क्षेत्रबाट दैनिक एक सय भन्दा बढी ट्याक्टरमा ढुङ्गा उत्खनन गर्दै आएका छन् । उनिहरुले उक्त ढुङ्गा स्थानीय तिरिङखोला बगरमा भण्डारण गर्दै आएका छन् । मेचीनदीको ढुङ्गा उत्खननका लागि स्काभेटर समेत प्रयोग गर्दै आएका छन् । अबैध उत्खनन गरीएका हजारौ घनमिटर ढुङ्गा बगरमा भण्डारण गरिएको भएपनि सम्बन्धित निकाय मौन छन् । जसका कारण दादागिरी शैलीमा खोला उत्खनन् भइरहेको छ ।

हुन त तिरिङ्का तस्करले अहिलेमात्रै नदी उत्खनन गरेका भने होइनन् । उनिहरुले बर्षभरी नै सम्बन्धित निकायबाट अनुमती नलिई यसरी नै नदि उत्खनन् गदै आएको स्थानीय बताउँछन् । तस्करले खोलामा स्काभेटरै प्रयोग गरेर ढुङ्गा निकालेकाले मेची नदिको नेपालतर्फको भाग गहिरो भई कटान समेत बढेको इलामको रोङ-६, पाटापुरका भक्तबहादुर राईले बताए ।

तिरिङ क्षेत्रमा मात्रै २० भन्दा बढी युवाको पेशा नै ढुङ्गा तस्करी रहेको छ । उनिहरुले नजिकैको तिरिङ खोलाको ढुङ्गा सबै बेचिसकेपछी बिगत ४ वर्ष अघिबाट मेचीको ढुङ्गा उत्खनन् गर्न थालेको स्थानीयको भनाई छ । उत्खनन्का कारण इलामको पाटापुर, झापाको तल्लो पाटापुर र तिरिङ क्षेत्र कटानको जोखिममा परेको झापाको मेचीनगर-१ का स्थानीय ओम पुरीले बताए ।

यसरी दैनिक नदीको अवैध दोहन भइरहेपनि स्थानीय जनप्रतिनिधी र प्रहरी भने यस विषयमा एकअर्कालाई दोष देखाएर पन्छिने गर्छन् । झापाको मेचीनगर—१ का वडाध्यक्ष पासाङ तामाङले बर्खाको तीन महिना खोलाको निगरानी गर्न प्रहरीलाई जिम्मा लगाएको बताए ।

अवैध उत्खनन गरी भण्डारण गरिएका ढुङ्गा नदिको प्रतिवन्ध हटेपछि महंगो दाममा ठेकेदारलाई बिक्री गर्दै आएका छन् । ढुङगा उत्खनन र तस्करीमा प्रयोग गर्ने उद्धेश्यले तिरिङमा मात्रै ५० भन्दा बढी ट्याक्टर रहेका छन् । भारततर्फ समेत नदी उत्खनन यतिबेला बन्द छ ।