बिर्तामोड । नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय र संगीत रोयल्टी संकलन समाज नेपालको संयुक्त आयोजनामा प्रतिलिपी अधिकार एवम् रोयल्टी व्यवस्थापनसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम मंगलबार बिर्तामोडमा सम्पन्न भएको छ ।

प्रतिलिपी अधिकार ऐन प्रभावकारीरुपमा कार्यान्वयन गराउनका लागि सरोकारवालासँग अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ । सार्वजनिकरुपमा गीत, संगीत प्रयोग गरेवापत रोयल्टी बुझाउनुपर्ने कर्तव्यबोध गराउन र चेतना अभिवृद्धि गराउने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताइएको छ ।

रोयल्टीका लागि समाजले २०६४ सालदेखि अभियानकै रुपमा थालनी गरेको थियो । तर, एक दशकपछि २०७४ चैत १९ गतेबाट मात्र यससम्बन्धी ऐन बनेर लागु भएको थियो । यसबीचमा करिब दुई करोडभन्दा बढी रोयल्टी संकलन भए पनि यातायात मन्त्रीका रुपमा महावीर सेठ आएपछि यातायात क्षेत्रमा सिण्डिगेट तोड्ने निर्णय भएसँगै यातायात व्यवसायीले रोयल्टी नबुझाउने अडान लिएकाले यो ऐन फितलो भएको सर्जकहरुको बुझाइ छ ।

यातायातका साधनसँगै होटल, रेष्टुराँ, टिभी, एफएम, दूरसञ्चारलगायतका ४० वटा क्षेत्रले सार्वजनिकरुपमै गीत, संगीत प्रयोग गर्दै आएका छन् । तर, यातायात क्षेत्रले मात्र यसलाई रोयल्टीवापत शूल्क बुझाउने गरेका थिए ।

रोयल्टी संकलनमा रुपन्देही जिल्ला पहिलो सूचीमा रहेको छ भने झापा दोस्रो, कास्की तेस्रो र सुर्खेत चौँथो सूचीमा रहेको समाजले जनाएको छ ।

समाजका अध्यक्ष तथा संगीतकार महेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीश माधव पोख्रेल प्रमुख अतिथि थिए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेल, समाजका तर्फबाट महासचिव भिषण राई, यातायात कार्यालय मेचीका प्रमुख गोपीचन्द्र बोहोरा, संगीत उत्पादक समाजका महासचिव टुम गैंडेलगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल प्रतिलिपी अधिकार रजिष्टार कार्यालयका रजिष्टार प्रकाश आचार्य, झापा प्रहरी प्रमुख दिनेश मैनाली, जिल्ला अदालतका श्रेष्तेदार दुर्गा खनाल, जिल्ला हुलाक कार्यालय झापाका प्रमुख दामोदार घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बरिष्ठ गीतकार शिवशंकर थापालगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा यातायात कार्यालयका प्रमुख गोपीचन्द्र बोहोरा र सर्जक गौरीमान राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।