बिर्तामोड । प्रदेश नम्बर १ स्तरीय दोस्रो मिस्टर ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसीपको तयारी तीव्र पारिएको छ । भदौ दोस्रो साता हुने च्याम्पियनसीपका लागि आयोजक ग्यालेक्सी फिटनेसले तयारी तीव्र पारेको हो ।

भदौ १३ र १४ गते बिर्तामोडमा हुने च्याम्पियनसीपमा १ नम्बर प्रदेशमा रहेका विभिन्न २५ वटा क्लबले सहभागिता जनाउने ग्यालेक्सी फिटनेसका सञ्चालक तथा आयोजक समितिका कोषाध्यक्ष चन्द्र राना लाफाले बताए । उनका अनुसार च्याम्पियनसीपमा कम्तिमा ५० जना खेलाडीले सहभागिता जनाउनेछन् ।

उनका अनुसार पाँच वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समूहबीच प्रतिस्पर्धा हुनेछ । तौल समूहमा विजेता बन्ने खेलाडी फाइनल चरणका लागि ओभर अल भिडन्तमा सहभागी हुनेछन् । ओभर अल च्याम्पियन बन्ने खेलाडीले नगद १ लाख, ट्रफी र आकर्षक गिफ्ट ह्याम्पर पाउनेछ ।

त्यस्तै, ओभर अलबाट दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ४० हजार, चौथो हुनेले ३० हजार पाँचौ हुने खेलाडीले नगद २० हजारसहित ट्रफी पाउने आयोजकले जनाएको छ । यसबाहेक तौल समूहमा दोस्रो हुने खेलाडीले ५ हजार र तेस्रो हुने खेलाडीले ३ हजार पाउनेछन् ।

काठमाडौँबाट ८ जना निर्णायक आउने च्याम्पियनसीपमा उत्कृष्ट दुई जना खेलाडीलाई पनि पुरस्कृत गरिने कोषाध्यक्ष लाफाले बताए । उनका अनुसार बेस्ट पोजर र मस्ट मस्कुलरको उपाधि जित्ने खेलाडीलाई जनही १० १० हजार पुरस्कार प्रदान गरिने छ । अग्रसेन भवनमा हुने फाइनल राउण्डमा साउथ एसियन च्याम्पियनसीपमा रजत पदक विजेता बनेकी रजनी श्रेष्ठको प्रदर्शनी रहने बताइएको छ ।