भीम चापागाई,
इलाम । इलाम नगरपालिका-९, गोलाखर्क छेउमा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग यसै वर्ष कालोपत्रे गरिँदैछ। धावनमार्ग, ट्याक्सी पार्कको कालोपत्रे तथा अस्थायी खालको टर्मिनल भवनसमेत अबका १४ महिनाभित्र पूरा गर्ने लक्ष्यसाथ तीव्र गतिमा काम अघि बढाइएको छ।

विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे हुनेछ। त्यसका लागि अहिले मैदानको सतह मिलाउने काम भइरहेको छ। अग्लो स्थानको माटो काटेर होचो स्थानमा पुर्दै सम्याउने काम धमाधम भइरहेको निर्माणकर्ता आशिष, आशीर्वाद र स्वामीनारायण जेभीका प्रतिनिधि मनोज बुढाथोकीले बताए। ‘सम्झौताअनुसार हामीले १५ महिनामा काम सक्नुपर्नेछ’, उनले भने, ‘तर, सबै भनेजस्तो भयो भने निर्धारित समयभन्दा अघि नै काम सक्नेछौं।’

निर्माणको काम समयमै सक्न संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्देशनसमेत दिएका छन्। बुधबार निर्माणस्थल निरीक्षणमा आएका मन्त्री भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माणको जिम्मा लिएका ठेकेदारलाई यस्तो निर्देशन दिएका हुन्। ‘सरकारले नियमानुसार भुक्तानी गर्न कुनै कारणले रकम अड्काउने छैन, धमाधम काम सक्नुहोस्, समयमै काम सकियोस्’, उनले निर्माणस्थलमै रहेका प्राधिकरणका इन्जिनियरलाई कामको सुपरीवेक्षण गरी समयमा काम गराउन निर्देशन दिए।

मन्त्री भट्टराईले नेपालमै विमान चालक उत्पादन गर्नेगरी ‘फ्लाइङ स्कुल’ स्थापना गर्न सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताए। ‘अन्य देशमा गएर नेपाली विद्यार्थीले पाइलट पढ्न मोटो रकम खर्च गर्नुपरिरहेको छ’, उनले भने, ‘अब मन्त्रालयले नेपालमै फ्लाइङ स्कुल खोल्ने विषयमा सम्भाव्यता अध्ययन गर्न कार्यदल बनाउँदैछ।’

मन्त्री भट्टराईले पहाडी क्षेत्रको इलाम र तराई क्षेत्रको दाङ विमानस्थललाई फ्लाइङ पाठशाला बनाउने सोचेको पनि बताए। ‘फ्लाइङ स्कुल खुल्ने भयो भने इलाम र दाङमा पाइलट पढाउने कलेज स्थापना हुनेछन्’, उनले भने, ‘विमानस्थल पनि यी दुईवटा प्रयोग हुनेछन्।’ पहाडी क्षेत्रका विमानस्थल दैनिक रूपमा सञ्चालन हुन नसक्ने अवस्था भए वैकल्पिक प्रयोग गर्नेगरी फ्लाइट स्कुलको अवधारणा आएको उनले जनाए।

धावनमार्ग र ट्याक्सी पार्क कालोपत्रे तथा अस्थायी टर्मिनल भवनलगायत कामका लागि गएको आर्थिक वर्ष ९ करोड रुपैयाँमा ठेक्का लागेको हो। १ महिनाअघि काम सुरु गरिएको र निर्धारित समयमै काम सकिने प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले बताए। विमानस्थलका लागि अहिलेसम्म १८ करोड हाराहारी रकम खर्च भइसकेको प्राधिकरणले जनाएको छ ।

२०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो। विमानस्थल कच्ची भए पनि उडान-अवतरणमा कतै समस्या नभएको र उडान सफल भएको त्यतिबेला आएका चालक दलका सदस्यले प्रतिक्रिया दिएका थिए। इन्जिनियर भट्टराईले सानो आकारका विमान चल्ने पहाडी क्षेत्रका विमानस्थलमध्ये यो फराकिलो र राम्रो रहेको बताए।

तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६७ चैत १३ मा विमानस्थल शिलान्यास गरेका थिए। ३ सय २८ रोपनीमा निर्माणाधीन विमानस्थलका लागि २०५८ सालमा निर्माण प्रक्रिया शुरु भएको थियो। त्यसको ९ वर्षपछि शिलान्यास भए पनि बर्सेनि ज्यादै कम बजेट मात्र विनियोजन हुने गरेकाले निर्माणमा ढिलाइ भइरहेको छ।

तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो। जिल्लाबासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको थियो। ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रुपैया“ खर्च भएको थियो।

यहाँ विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्। यो विमानस्थल ट्वीनअटर जहाजका लागि पर्याप्त मानिएको छ। ट्वीनअटरभन्दा ड्रोन र लेट जहाज अझ छिटो सञ्चालन हुनसक्ने प्राविधिकले जनाएका छन्। ट्वीनअटरभन्दा यी जहाज काठमाडौं-इलामको दूरीमा १० मिनेट छिटो आउ-जाउ गर्न सक्छन्। नागरिक दैनिकबाट