रमेश समदर्शी,

ताप्लेजुङ । यहाँ आयोजित चौथो पाथीभरा गोल्डकपले नयाँ च्याम्पियन पाएको छ । शुक्रबार सम्पन्न फाइनल खेलबाट सुनसरीको एलेभेन एरोज क्लब च्याम्पियन बनेको हो । साविक विजेता रेडस्टार फुटबल क्लब टाइब्रेकरमा चुक्दा पाथीभरा गोल्डकपको उपाधि विजेता नयाँ टिम सुनसरी बनेको हो ।

अन्तिम एक मिनेट सम्हालिन नसक्दा रेडस्टारले उपाधि सुनसरीलाई सुम्पिन बाध्य बन्यो । निर्धारित ९० मिनेटमा दुई पटक रेडस्टारले लिएको अग्रता जोगाउन नसक्दा उपविजेतामा सीमित हुनु परेको हो । निर्धारित समयमा दुवै टिमले समान २-२ गोल गरेपछि उपाधिको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

खेलमा दोस्रो हाफको १५औँ मिनेटमा फ्रिकिकमार्फत योगेश गुरुङले सुन्दर गोल गरेर खाता खोलेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, २९औँ मिनेटमा एलेभेन एरोजका यानिक ओवानाले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा फेरि रेडस्टारका मिलन राईले खेलको ४२औँ मिनेटमा गोल गरेर २-१ को नतिजा निकालेका थिए । रेडस्टारका लागि दुर्भाग्य खेल सकिन एक मिनेट बाँकी रहँदा पुनः एलेभेन एरोजले बराबरी गोल गर्यो । खेलको ४९औँ मिनेटमा सुशान्त तामाङले गोल गर्दै खेललाई बराबरीमा पुराएका हुन् ।

उपाधिको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा ४–२ गोलअन्तरमा एलेभेन एरोज गोल्डकप च्याम्पियन बन्यो । रेडस्टारका लागि योगेश गुरुङको पहिलो प्रहार नै बाहिरियो । एलेभेन एरोजका रुपेश केसीको प्रहार भने गोलमा परिणत भयो ।

रेडस्टारका पुजन उपरकोटी दोस्रो प्रहारमा गएका थिए । उनको प्रहार सिधै गोलमा परिणत भयो । देब्रे बार च्याप्दै उनले सुन्दर गोल गरे । एलेभेन एरोजका जीवन धामीले पनि गोल गर्न सफल भए । रेडस्टारका विकास थुलुङको प्रहार गोलपोस्टभन्दा धेरै माथिबाट बाहिरियो ।

यस्तै, एलेभेन एरोजका गोलरक्षक प्रिसो आफैँ प्रहारका लागि आएका थिए । उनको प्रहार रेडस्टारका गोलरक्षक विवश चौधरीले बचाउन सकेनन् । तर, अन्दाज भने लगाएका थिए ।

रेडस्टारका निशान्त लिम्बूको प्रहार गोलमा परिणत भयो । एलेभेन एरोजका गोलरक्षक प्रिसोले रोक्न खोजे पनि हातमा लाग्दै बलले जाली चुमेको थियो । निर्णायक गोलका लागि एलेभेन एरोजका उमेश कार्कीले गरेको प्रहार गोलमा परिणत हुँदा झापा स्तब्ध बन्यो ।

गोल्डकप च्याम्पियन एलेभेन एरोजले नगद ३ लाख ११ हजार १११ रुपैयाँ र ट्रफी पाउँदा उपविजेता रेडस्टार फुटबल क्लबले एक लाख ५१ हजार १११ रुपैयाँमा चित्त बुझायो ।