झापा । नेपाल तामाङ घेदुङ संघ उर्लाबारी मोरङको आयोजनामा हुने मिस तामाङ प्रदेश १ को फिनाले भदौ २८ गते हुने निश्चित भएको छ । मिति तय भएपछि आयोजकले फिनाले राउण्डको तयारी तीव्र पारेको छ ।

तामाङ समुदायका युवतीहरुकोे व्यक्तित्व बिकास, अन्तरनिहीत प्रतिभाको प्रस्फुटन तथा भेषभुषा, भाषा संस्कार, संस्कृतिको उत्थान र प्रवद्र्धन गराउने उद्देश्यले आयोजना गरिएको ‘मिस तामाङ प्रदेश १’ मा अहिले १४ जना सहभागी छन् । उनीहरुलाई बन्द प्रशिक्षणमा राखिएको छ । जसअन्तर्गत सहभागीको ‘ट्यालेण्ट शो’ भोलि बुधबार उर्लाबारीमा हुने भएको छ ।

प्रदेशका विभिन्न स्थानमा गरिएको अडिसनमा सहभागी ५० जनाभन्दा बढीबाट छनोटमा परेका उनीहरुको उर्लाबारीको सिङ्हिम होटलमा ‘ट्यालेण्ट शो’को आयोजना गरिएको आयोजक नेपाल तामाङ घेदुङ संघ उर्लाबारीका अध्यक्ष राजु घिसिङ्गले जानकारी दिनुभयो ।

मिस तामाङमा सहभागी प्रतियोगीहरुलाई बन्द प्रशिक्षणमा राखेर विभिन्न प्रकारका जीवनपयोगी तालिम तथा प्रशिक्षण प्रदान गरिँदै आएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले भदौ २८ गते धनकुटाको हिलेमा हुनेछ । फिनालेभन्दा अघि झापाको बिर्तामोडमा भदौ २४ गते प्रतियोगीहरुको सहभागितासहित ‘फेसन शो’को आयोजना गरिने आयोजकले जनाएको छ । फेसन शोमा गायक बुद्व लामासहित विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।