झापा । नेपालले एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

२ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई नेपाली बलरको कसिलो बलिङ सामु ३४.४ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । नवौं ओभरको पाँचौ बलमा यूएईले पहिलो विकेट गुमाएको थियो । कमलसिंह ऐरीले आशिफ शेखबाट निल रोहन लोबोलाई ५ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काए । १३ ओभरको अन्तिम बलमा अर्का ओपनर सैइद हैदरलाई सागर ढकालले १५ रनमा एलबी डब्लू आउट गरे ।

सागरले नै १८ ओभरको चौथो बलमा अरबिन्द्र रुद्रबेललाई २८ रनमा बोल्ड आउट गरे । उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । २० औं ओभरको पाँचौ बलमा अनिस १२ रनमा आउट भए । पवन सरार्फले अल्सान शरफुललाई २१ रनमा क्याच आउट गराए यूएईको विकेट पतन निरन्तर जारी रह्यो । नेपाली बलर सामु कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर खुलेर खेल्न सकेनन् ।

नेपालको फराकिलो जितमा सागर ढकालले ७ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै पवन सरार्फ,सुर्य तामाङ र राशिद खानको नाममा समान २ विकेट रह्यो । त्यस्तै कमलसिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि यूएईले टस जितेर ब्याटिङको निम्तो दिएपछि नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो । कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । ३३ ओभरको चौथो बलमा क्याच आउट हुनु अघि रोहितले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

तल्लोक्रममा राशिद खान र कमलसिंह ऐरीले उत्कृष्ट प्रर्दशन गर्दै नेपाललाई विशाल योगफल सम्म युर्याए। राशिद खान ४४ बलमा ५ चौका र १ छक्का सहित ४४ रनको महत्वपूर्ण योगदान दिए । अन्तिम ओभरको पहिलो बलमा क्याच आउट हुनुअघि कमलसिंह ऐरी २६ बलमा ५ चौका र २ छक्का सहित ४१ रन जोडेका थिए ।

ओपनर रित गौतम र पवन सरार्फ दुबै शून्यमा आउट भए । १९ ओभरको दोस्रो बलमा क्याच आउट हुनुअघि विकेटकीपर आशिफ शेखले ५३ बलमा ८ चौका सहित ४५ रन जोडे ।भिम सार्की १ रनमा आउट भए। सन्दीप जोरा ५३ बलमा ६ चौका सहित ४८ र कुशल मल्ल २२ बलमा २ छक्का र १ चौकाको सहयोगमा २२ रनको योगदान दिएका थिए ।

यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले समान ३ विकेट लिए । कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीको नाममा १ विकेट रह्यो । समुह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि समुह चरणबाटै बाहिरिएको थियो ।