धरान । असोज ३ गतेबाट देशैभर प्रदर्शन हुन लागेको नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डीको टिमले यतिबेला प्रचार प्रसारलाइ तीब्र गतिमा लान नयाँ शैली अपनाएको छ ।

प्रचार प्रसारका क्रममा फिल्म युनिटले हिजो धरानस्थित नेपाल प्रहरी माविमा हाजिरीजवाफ सम्पन्न गरेको छ । बिद्यार्थी हरुलाई नेपाली चलचित्रप्रति आकर्षित गर्दै नेपाली चलचित्र क्षेत्रको अधिक जानकारी दिने उद्देश्यले बीपी फोर इन्टरटेन्टमेन्ट को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

‘ज्ञान पनि फन पनि’ उद्देश्यले राखिएको हाजिरीजवाफ प्रतियोगितामा धरान आदर्श बोर्डिङ स्कुल बिजेता बन्यो भने दोस्रो स्थानमा नेपाल प्रहरी मावि सफल भएको छ। बिजेता ले पाँच हजार नगद ट्रफी प्रमाणपत्र र ‘कबड्डि कबड्डि कबड्डि’को ५ वटा टिकट पायो । यसैगरी दोस्रो हुनेले नगद दुई हजार, ट्रफी, प्रमाणपत्र र ३ वटा टिकट प्राप्त गरेका थिए।

कार्यक्रममा बिभिन्न विद्यालयका शिक्षक विद्यार्थी अविभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यस्ता कार्यक्रमले नेपाली फिल्मको प्रचार मात्र नभएर विद्यार्थीहरुमा नेपाली चलचित्रको बारेमा ज्ञान प्राप्त हुने भएकोले यस्ताखालका कार्यक्रम हुनु आवश्यक रहेको भन्दै कार्यक्रम राम्रो सफल भएकोमा खुसी व्यक्त गर्दै बिष्णु मेमोरियलका शिक्षक शम्भु ढुङ्गेलले आयोजकलाई धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै पुलिस स्कुलका प्रिन्सिपल डकेन्द्र रायमाझीले यो कार्यक्रमले विद्यार्थी र शिक्षकहरुलाई नेपाली फिल्मप्रतिको मोह बढेको भन्दै पछिल्लो समय नेपाली फिल्ममा धेरै सुधार भएको बताए । मौलिक विषय वस्तुमा उठान गरिएको चलचित्र कबड्डी कबड्डी कबड्डी असोज ३ गते देशभरका हलहरुमा एकै साथ सोलो रिलिज हुँदैछ ।