हिले, धनकुटा । शनिबार राति अबेर सम्पन्न मिस तामाङ प्रदेश १ को ताज धनकुटा हिलेकी प्रजिता तामाङले पहिरिएकी छन् । नेपाल तामाङ घेदुङ संघ उर्लाबारी मोरङको आयोजना तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सहआयोजनामा हिलेको खेलमैदानमा भएको ग्राण्ड फिनालेको अन्तिम पाँचमा पर्न सफल प्रजिताले मुख्य निर्णायकको प्रश्नोत्तरमा उत्कृष्ट हुँदै प्रदेशकै ताज पहिरिएकी हुन् । उनी धनकुटा हिलेकीकी स्पर्धी हुन् ।

ग्राण्ड फिनालेमा सहभागी विभिन्न जिल्लाका १३ स्पर्धीलाई पछि पार्दै उनले मिस तामाङको ताज पहिरिएकी हुन् । उनले व्यक्तिगत विधातर्फ पनि तीन वटा पुरस्कार सुरक्षित गरिन् । मिस तामाङको उपाधिसँगै एक थान स्कुटी, नगद २५ हजार र विभिन्न शैक्षिक संस्थाको छात्रवृत्तिसँगै गिफ्ट ह्याम्पर पनि पाइन् ।

मिस तामाङको फस्ट रनरअपमा सुष्मा तामाङ घोषित भइन् । उनले नगद १ लाखसहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर पाइन् । त्यस्तै, मिना तामाङले सेकेण्ड रनरअप हुँदै नगद ५० हजारसहित आकर्ष गिफ्ट ह्याम्पर पाइन् । विजेताहरुलाई फिनालेको प्रमुख अतिथि पूर्व कानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङ, सांसद नविना लामा, युवा व्यवसायी फुर्वा लामा, मनोज बुढाथोकी, रमेश चौधरी, तुल श्रेष्ठ, डा. रामबाबु गिरी, हेयर स्टाइलिस्ट निल डेविड कटुवाल, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, उर्लाबारी घेदुङका राजु घिसिङ, धनकुटा अध्यक्ष विष्णुबहादुर मोक्तान लगायतले पुरस्कार वितरण गरेका थिए ।